Logo
Logo

प्रभु साहलाई किन चाहियो आईटी आर्मी अर्धसैनिक बल ?


2.6k
Shares

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले छुट्टै आईटी आर्मी अर्धसैनिक बल निर्माण गरेको छ । 

यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरु भएको सैनिक तालिम अहिले निरन्तर जारी छ । 

एक सातासम्म चल्ने उक्त तालिममा देशभरीका हजारौं युवाहरू सहभागी छन् । रौतहटको मौलापुरमा भइरहेको उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षण देखी सैनिक अभ्यास समेत गराइएको छ । 

आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले अहिलेको सूचना प्रविधिको युगमा युवाहरूलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक रहेको बताए । 

वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न, भ्रष्टाचारीलाई दण्डित गर्न तथा भगौडा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भइसकेकोले यो तालिम गर्न लागेको उनले बताए । यो तालिम पछि आईटी आर्मीका युवाहरूले देशमा बढ्दो संकट रोक्न सकारात्मक योगदान गर्ने उनले बताए । 

आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई सङ्कटबाट बचाउन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ । आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भूमिका सहयोगी हुने बताए  । 

यदि सुरक्षा अधिकारीहरू देशको सङ्कटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोख्याउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने उनले जनाएका छन् ।

‘ढिलो चाँडो नेपाली सेनाका जवानहरूले बुझ्नेछन् र देश निकासको लागि आईटी आर्मीसँग सहकार्य गर्नेछ । यही तरिकाले अब देश अघि बढ्न सक्दैनन्, आईटी आर्मीले देशको निकासमा विशेष सहयोगी भूमिका खेल्ने पक्का छ ।’ साहले भने । 

उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् । मुलुकमा देखिएको समस्या समाधान र समृद्धिका लागि अहिलेको सरकार विघटन गरि अन्तरिम सरकार गठन गर्नुपर्ने उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्