Logo
Logo

क्राइम रिपोर्ट : एकैदिन ७ को मृत्यु, घटनामा संलग्न १७ जना पक्राउ


1.3k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १ जना मृत फेला परेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

उक्त सचिवालयका अनुसार काठमाडौं महानगरपालिका–६ स्थित सडकमा राखेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ । हिजो (सोमबार) दुर्घटना भएको हो । प्र–२–०१–००१ प ९२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं बानेश्वर बस्ने ओखलढुङगा सिद्धिचरण नगरपालिका–३ घर भएका २९ वर्षीय प्रकाश खत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै हिजो नै सुनसरीको देवानगञ्ज गाउँपालिका–३ नयाँ हटियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । बा–५६ प ५९०६ नम्बरको मोटरसाइकल र बीआर ५० एए १८६७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बीआर ५० एए १८६७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत विहार सुपौल तिटोलिया प्रतापगञ्जका १८ वर्षीय मिथलेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी रौतहट चन्द्रपुर नगरपालिका–५ स्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ज–१ ह ४४८५ अटोलाई प्रदेश २–०३–००१ ख १९२७ नम्बरको ट्याङकरले हिजो राति ठक्कर दिँदा अटोमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।

भारतको सितामढी डुमरी बस्ने ४० वर्षीय पिंकु सिंह र २० वर्षीय अवधेश रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हिजो नै दाङ तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासस्थित सवारी साधनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको तुलसीपुरदेखि घोराहीतर्फ जाँदै गरेको भे–१ ख ३६९७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१७ झिङगैका ८ वर्षीय बालक सागर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

बझाङको जयपृथ्बी नगरपालिका–९ सिमखेतस्थित सडकमा जेसिबी दुर्घटना भएको थियो । सु.प.प्र २४५३ नम्बरको जेसिबी हिजो राति दुर्घटना हुँदा चालक बित्थडचीर गाउँपालिका–६ बस्ने ३० वषी्र्रय प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको छ ।
हिजो (सोमबार) स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजार भने डेरा गरी बस्ने पाल्पा घर भएका ४८ वर्षीय कृष्ण नेपाली आफ्नै कोठामा मृत फेला परेका छन् । यी सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हिजो दिउँसो नै उदयपुर बेलका नगरपालिका–१ मा अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउनसुगर ८ सय २० मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याब्लेटसहित चौडण्डीगढी नगरपालिका–१ बेलटार बस्ने २६ वर्षीय योगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

हिजो नै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गालाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी हिजो राति काठमाडौं महानगरपालिका–१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्