काठमाडौं । अहिले राजनीतिक दलहरूलाई राष्ट्रियसभा निर्वाचनको चटारो छ । यसको तयारीका लागि आन्तरिक तथा बाह्य रूपमा दलहरू लागिरहेका छन् ।
यही माघ ११ गते १९ सिटका लागि हुन लागेको राष्ट्रियसभाको निर्वाचनको लागि सत्ता गठबन्धन दलहरूले आ-आफ्नो दाबी पेस गरिरहेका छन् । यता, प्रमुख प्रतिपक्षी एमाले पनि सत्ता गठबन्धनसँग नै सहकार्य गर्ने दाउमा छ ।

राष्ट्रपति, संघीय सरकार, प्रदेश सरकार र राजनीतिक नियुक्ति गुमाउनु परेको एमालेका लागि राष्ट्रियसभामा रहेका सिट संख्या पनि घट्दै छ । गठबन्धनसँग प्रतिस्पर्धा गर्दा मतभारका आधारमा एमाले एक सिट पनि जित्न सक्ने अवस्था छैन ।
गठबन्धन कायमै रहँदा राष्ट्रियसभाबाट बढारिने देखेपछि एमाले सङ्क्रमणकालीन न्याय (टीआरसी)लाई देखाएर बार्गेनिङ सुरु गरेको छ । सत्ता गठबन्धनका दलहरू मिलेर अघि बढ्दा १९ सिटमा कुनै परिणाम नआउने भएपछि एमालेले बार्गेनिङ गर्न थालेको हो ।
सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय छन् । त्यसलाई कमजोरी ठान्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको मोलमोलाइ थालेका हुन् ।
ओलीले राष्ट्रियसभा सदस्यको लागि बार्गेनिङ गर्न थालेपछि आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकका सोबारे छलफल पनि भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग बसेको बैठकबारे जानकारी गराएका थिए । ओलीले राष्ट्रियसभामा आफूहरूलाई ‘जिरो’ नबनाउन आग्रह गरेको प्रचण्डको ब्रिफिङ थियो ।
बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘ओलीजीले प्रधानमन्त्रीलाई हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो । त्यसपछि हामीले उहाँहरूको खास प्रस्ताव के हो ? भन्ने कुरा बुझेर मात्रै टुंग्याउँछौं ।’
राष्ट्रियसभा निर्वाचनमा एमालेलाई मेट्दा यो शर्सत हुने नेता पाण्डले बताए । उनले भने- ‘ उहाँको प्रस्ताव कडिस्नल छ, उहाँहरु सहमत भनेको कन्डिसनल हो । यत्ति बुझ्नुस् कन्डिसनल भनेको के हुन्छ रु यसो गरेमा यसो गर्ने भन्ने हुन्छ ।’
एमालेबाट रिक्त हुने ९ सिटमा साझा उम्मेदवार बनाउने भनिए पनि गठबन्धनमा सहमति हुन नसकिरहेका बेला एमालेले पनि सहकार्यको प्रस्ताव गर्न लागेको हो । गठबन्धनले साझा उम्मेदवार खडा गरेमा राष्ट्रिय सभामा हाल पहिलो एमाले खुम्चिने निश्चित छ ।
यसैबिच आज प्रधानमन्त्री प्रचण्ड र एमाले ओलीसँग भएको भेटवार्ता समेत राष्ट्रियसभा निर्वाचन, शान्ति प्रक्रियालाई निष्कर्षमा पर्याउने विषयमा छलफल भएको बताइएको छ ।
यसअघि पनि सोही विषयलाई देखाउँदै एमाले संघीय संसद्का विषयगत समितिको सङ्ख्यामा भाग लिगेको थियो । त्यति मात्र होइन एमालेले सङ्क्रमणकालीन न्यायमा हल अड्काउँदै तीन संसदीय समितिको नेतृत्व आफ्नो पक्षमा पारेका थिए ।














