
टीकापुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कैलालीको टीकापुर–९ खक्रौलामा रहेको सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
कैलालीको टीकापुरमा आयोजित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको आज उद्घाटन गर्दै उनले क्वारेन्टाइन स्थापनाका लागि आफू लागिपर्ने बताक्एा हुन् । ‘वाणिज्य सङ्घले राखेका सातबुँदे माग पूरा गर्ने आश्वासन दिन्छु । आर्थिक उन्नति र प्रगतिका लागि लम्की टीकापुर सडक समयमै निर्माणका लागि पहल गर्छु,’ उनले भने, ‘निर्माणाधीन सडक समयमै सक्न कडाइ गर्नुका साथै सडक विस्तार र पर्यटकीय विकासलाई प्राथमिकतामा राखिनेछ ।’
महोत्सवले विकाससँगै सहकार्यमा जोड दिने बताउँदै रक्षामन्त्री खड्काले कैलाली जिल्लाको टीकापुर सुन्दर र आर्थिक सम्भावना बोकेको सहर रहेको स्पष्ट पारे । यो सहरको विकासका लागि सङ्घीय सरकार यहाँका नागरिकको साथमा रहने पनि उनले बताए ।
‘यो महोत्सवले कृषक, उद्यमी, व्यवसायी, कलाकार सबैलाई एकै ठाउँमा जुटाइ सहकार्यका लागि नयाँ ठाउँ पहिल्याउने छ,’ उनले भने, ‘महोत्सवअन्तर्गत प्रदर्शनीमा राखिने कृषि तथा औद्योगिक उत्पादनले वस्तु चिनाउन र बाह्य बजार विस्तारमा सहयोग पुग्नेछ । महोत्सवले बहुमूल्य वस्तुको पहिचान र बजार विस्तारमा सहयोग पुग्नेछ ।’














