काठमाडौं । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्यो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत माग्दा सरकारमै सहभागी जनमत पार्टी भने बैठकमा सहभागी भएन ।
बालुवाटारमा बसेको बैठकले सातै प्रदेशमा गठबन्धनका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि मत मागेको हो । राष्ट्रियसभा निर्वाचनमा जनमत पार्टीले भने सत्ता गठबन्धनसँग सहकार्य गरेको छैन ।

राष्ट्रियसभामा आफूले भाग नपाएपछि जनमत पार्टी रुष्ट बनेको छ । राष्ट्रिय सभाको सिट बाँडफाँटमा असन्तुष्ट भएर बैठक चल्दाचल्दै बाहिरिएको जनमतले मधेस र लुम्बिनी प्रदेशमा आफ्नो उम्मेदवार उठाएको छ । जनमतले लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेश प्रदेशको अन्य क्लस्टरमा राशंकर महासेठलाई उम्मेदवार बताएको छ ।
आजको बैठकमा जनमत पार्टी सहभागी नभएकाले उसको हस्ताक्षर छैन । जनमत पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ । पार्टीकी सांसद अतिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । सरकारमै सामेल जनमत सत्ता गठबन्धन बैठकमा भने नगएको हो ।
सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेर उम्मेदवार उठाएका छन् ।
आफूहरू राष्ट्रिय पार्टी भए पनि एक सिट पनि नदिइएको भन्दै जनमत सत्ता गठबन्धनका अन्य दलसँग असन्तुष्ट छ। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि आठ दलबाट ५२ जना उम्मेदवार छन्।














