काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय दलका नेताहरूलाई शीतल निवासमा आमन्त्रण गरेका छन् । माघी पर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्न राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूलाई शीतल निवासमा अहिले ११ बजे बोलाएका हुन् ।
आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्ने गर्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति समेत भनिन्छ । माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।














