जनकपुरधाम । धनुषामा एकजना पुरुष मृत भेटिएका छन् । साथै, उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेका छन् भने उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा छन् ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा सोमबार बिहान राधे मृत फेला परेका थिए । घाइते अवस्थामा भेटिएकी उनको श्रीमतीको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएको बताइएको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।














