काठमाडौं । सरकारले ७५ अर्ब रुपैयाँभन्दा धेरै रकम र २५ वर्षको समय लगाए पनि सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी स्थायी रूपमा काठमाडौँ ल्याउन असफल भएको छ ।
कुरा पहिलेदेखि नै चले पनि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना गरेर काम थालेको २५ वर्ष बितेको छ तर अहिलेसम्म काठमाडौंवासीले वर्षैभरि मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् ।
हिउँद याममा मात्र पथान्तरण गर्न मिल्ने गरी काठमाडौं ल्याइएको पानी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौंपटक सुभारम्भ गरेका हुन्।

हेडवर्क्स पुनः निर्माण सीधै खोला छिराएर पानी पथान्तरण गरिएकाले वर्षा सुरु हुने बित्तिकै सुरुङ बन्द गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पहिलो उद्घाटन तत्कालीन खानेपानी मन्त्री बिना मगरले गरेका थिए । उनले २०७७ असार २१ गते उद्घाटन गर्दै पानी पठाउन सुरु गरेका थिए ।
राम्ररी सुरुङ परीक्षण नगरी पानी पथान्तरण गर्दा अम्बाथानस्थित अडिट टनेल भत्कियो । दुई जनाको मृत्यु भयो । असार ३० गते ‘अडिट टनेल’ भत्किएर २७ वर्षीय इन्जिनियर सतीश गोइत र ५६ वर्षका चालक राधाकृष्ण थापाले ज्यान गुमाए ।
०७८ फागुनको पहिलो हप्ता मेलम्चीको हेडवर्क्स अम्बाथानमा पुगेर तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले दोस्रो पटक पानी पथान्तरण गरेका थिए । त्यतिबेला पनि काठमाडौं पानी पठाउने कार्यको उद्घाटन भएको थियो ।
झन्डै १० दिन लगाएर पानी काठमाडौं आइपुग्यो । काठमाडौं आइपुगेको पानीलाई २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रोलिक मेकानिकल गेटको बटम थिचेर प्रशोधन केन्द्रमा झारेका थिए ।
आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौं आइपुगेको खुसीयालीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर औपचारिक उद्घाटन गरे ।
भृकुटीमण्डको त्यो धारामा २४ सै घन्टा पानी खस्ने बताइएको थियो । अढाइ महिनापछि आएको बाढीले भृकुटीमण्डको धारामात्रै सुकाएन, मेलम्ची खानेपानी आयोजनाको भविष्य नै अनिश्चित बनाइदियो ।
बाढीले पुरेको हेडवर्क्स क्षेत्रको गेग्रान पूरै नपन्छाइ २०७८ चैत्रमा अस्थायी तवरले पानी काठमाडौं ल्याइएको थियो । २०७८ चैत १९ मा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्न सुरु गरेका थिए ।
वैशाख ११ गते खानेपानी मन्त्री चौधरीले नै बानेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेए) को ट्याङ्कीबाट स्टेरिङ घुमाएर मेलम्चीको पानी वितरणको पुनः उद्घाटन गरे । तर, तीन महिना पनि पानी आएन । वर्षा लागेपछि खोलामा भल बढ्न थाल्यो । सुरुङको मुख बन्द गर्नुपर्यो ।
उनै मन्त्री चौधरीले २०७९ मंसिर २३ गते पनि मेलम्चीको पानीको शुभारम्भ गरेका थिए ।
सरकारले बर्खा सकिएपछि सङ्लो पानी मेलम्चीको मुहानबाट पठाएर वितरण गर्दै आएको छ तर बर्खा लागेसँगै फेरि सुरुङ बन्द गर्नुपर्छ, काठमाडाैंमा मेलम्चीको पानी रोकिन्छ ।
मेलम्चीबाट सुरुङ हुँदै सुन्दरीजलसम्म पानी ल्याउन सरकारले ३० अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च गरेको छ । सुन्दरीजलबाट घरघरसम्म पाइप बिछ्याउन झन्डै ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
शोधभर्नासहितका विभिन्न शीर्षकमा झन्डै १० अर्ब रुपैयाँ लगानी भएको छ । ७५ अर्ब रुपैयाँभन्दा धेरै रकम र २५ वर्ष लगाएर बनाएको परियोजनाबाट स्थायी रूपमा पानी आउन सकेको छैन । तर हरेक वर्ष हिउँदमा अस्थायी संरचना बनाएर ल्याउने पानीको भने उद्घाटन गर्न तँछाडमछाड हुन्छ । यो हिउँदका लागि आजदेखि पुनः मेलम्चीको पानी वितरण सुरु भएको छ ।
मेलम्चीको पानी स्थायी रूपमा ल्याउन पहल नगर्ने तर हरेक हिउँदमा उद्घाटन गर्ने प्रवृत्तिलाई आज सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना र व्यङ्ग्य गरेका छन् ।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर’ भन्दै व्यङ्ग्य गरेका छन् ।
बाढी पहिरोबाट क्षतिग्रस्त भएपछि मेलम्ची मुहानबाट बर्खामा पानी पठाउने काम बन्द हुँदै आएको छ । मेलम्चीको पानी बर्खामा पनि काठमाडौँ ल्याउन पुनः अध्ययन गरेर अर्बौँ रुपैयाँ खर्च गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।














