काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन् ।
आइतवार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले भाषा संग्रहालयका लागि सोमवार नै भाषा संग्रहालय अध्ययन समिति बनाउने बताए ।

उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए । उनले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताए ।
उनले भने, ‘गोठाटारको जग्गा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिनेछौँ। यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्याउन पनि एउटा सानो समिति गठन गर्छौं । मान्छेहरू घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन् । म भाषाको संग्रहालय बनाउँदै छु। भाषा संग्रहालय अध्ययन समिति बनाउँदै छु। हामीलाई हिन्दु विश्वविद्यालय चाहिन्छ ।’
मन्त्री किरातीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि पनि मन्त्रालयले समिति गठन गर्ने बताए ।














