Logo
Logo
राष्ट्रियसभा निर्वाचन

आज मध्यरातिबाट मौन अवधि


441
Shares

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचारप्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ ।

मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगका सह सचिव एवं प्रवक्ता सालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियसभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । ६ बर्से कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । २० जनाको कार्यकाल सकिए पनि एक जना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्