काठमाडौं । भक्तपुरमा स्कुटरलाई ठक्कर दिएर लडेका मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजेतिर भक्तपुर नगरपालिका–१ चुनदेवी आकाशे पुलनजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका डिएसपी बसन्त पाठकका अनुसार सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको मोटरसाइकल बागमती प्रदेश ०२(०२२ प ८७३२ नं.ले बागमती प्रदेश ०२–०२१ प ९०३२ नंंको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्ने २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको डिएसपी पाठकले बताए ।

मोटरसाइकल तिव्र गतिमा थियो । जसकारण स्कुटरलाई ठक्कर दिएपछि मोटरसाइकल लड्दा चालक केसीलाई गम्भीर चोट लागेको डिएसपी पाठकले बताए । मृतक केसीको शव पोष्टमर्टम गर्न भक्तपुर अस्पतालमा राखिएको छ ।
स्कुटर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भई काठमाडौं कपन बस्ने २६ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान अघि बढाएको छ ।











