काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । आइतबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेतृत्वको टोलीसँग भएको छलफलमा नेता कोइरालाले यस्तो धारणा राखेका हुन् ।
उनले कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताउँदै चीनको आर्थिक विकास प्रशंसायोग्य रहेको बताए । उनले भने, ‘नेपाल र चीन नजिकका मित्र हुन् । नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ । चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौं ।’

नेता कोइरालाले नेपालमा कोभिड–१९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिँदै भने, ‘कोरोनाका बेला चीन सरकारले स्वास्थ्य सामग्री धेरै नै उपलब्ध गराएको थियो। नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै विस्तार गर्न चाहन्छ ।’ उनले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर अगाडि बढ्न आवश्यक रहेको बताए ।














