
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिएको छ । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो ।
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ । यो संख्या साविक न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ संख्याभन्दा धेरै हो ।
अहिले धरहरा पार्किङ भवनमा उपलब्ध गराइएको स्थानमा मात्र पनि १ हजार ५ सय दुई पाङ्ग्रे अट्न सक्छन् । ‘योसँगै काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा ७ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारी पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो निःशुल्क पार्किङ सेवा हो,’ पाण्डेले भने ।
महानगरको दाबीअनुसार यसबाहेक न्युरोडमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनमा समेत पार्किङ सुविधा छ । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिने व्यवस्था छ ।














