
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सांसदहरु भारत जाने भएका छन् । बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययनका लागि चिकित्सक र सांसदहरूको टोली भारतको हिमाञ्चल राज्य जान लागेका हुन् ।
१० जना पशु चिकित्सक र वनका पाँच जना रेन्जरसहित समितिका सदस्यहरू भारत जान लागेका हुन् । एद्यपी भारत भ्रमणको मिति भने तय भइनसकेको समितिका एक सदस्यले बताए । यसअघि मंगलबारमात्रै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सांसदहरू भारत प्रस्थान गरेका छन् ।
संसदीय कूटनीति र पर्यटन प्रवद्र्धन गर्न भन्दै आठ सांसदसहित ११ जनाको टोली भारत गएका हुन् । उनीहरु माघ २४ गते मात्र नेपाल फर्कने छन् ।
माघ २२ गते संसद्को अधिवेशन आह्वान गरिएको छ । एकातिर संसद्मा बिजनेस नहुने भन्दै सभामुखले सबै समितिलाई विधेयकमाथि छलफल गर्न आग्रह गरेका बेला सांसदहरू भने भारततिर लागेका छन् ।
यसअघि संसद् र समितिको बैठकमा सांसदहरूले बाँदर आतंकको विषयमा कुरा उठाउँदै यसको नियन्त्रण गर्नुपर्ने बताएका थिए ।














