
काठमाडौं । खुँखार मिटरब्याजी रामदेव साहबाट पीडितहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।
शनिबार सप्तरीको खडक नगरपालिकाको बिसनपुर आएका गृहमन्त्री श्रेष्ठलाई भेटेर पीडितहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
पीडितहरुले आफूहरु न्यायको लागि सडकदेखि अदालतसम्म पुगेको बताउँदै गृहमन्त्रीसँग पनि न्यायको लागि गुहार मागे। उनीहरूले मिटरब्याजपीडितहरुको छलफलमा भएको समस्याबारे समेत ध्यानाकर्षण गराएका छन् ।
अदालतले रामदेव साहसहित आठजनालाई पक्राउ पुर्जी जारी गरेपनि पक्राउ नगरिएको प्रति पीडितहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
मिटरब्याजीलाई पटकपटक पत्र काट्दा पनि उपस्थित नहुने र अदालतमा निषेधाज्ञा देखाएर पन्छिने गरेको पीडितहरुको गुनासो छ । निषेधज्ञा मुद्दा जोड्न आफूहरुलाई २५ हजारदेखि ५० हजारसम्म खर्च हुने गरेको उल्लेख गर्दै पीडितहरुले उक्त समस्या समाधान गर्न समेत माग राखेका छन् ।














