Logo
Logo

टेरामक्स प्रकरणबारे प्रश्न सुन्नै चाहँदैनन् स्वास्थ्यमन्त्री


945
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयमा पत्रकारमाथि खनिएका छन् ।
सोमवार संसद बैठकपछि सो प्रकरणबारे जिज्ञासा राख्दा उनी पत्रकारमाथि खनिएका हुन् । उनले ‘तपाईं कहाँको पत्रकार हो ?’ भन्दै प्रतिप्रश्नसमेत गरेका थिए ।

पत्रकारहरुले ‘सो प्रकरणमा मुछिएका तपाईंले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने होइन ’ भनि उनीसँग जिज्ञासा राखेका थिए । प्रत्युत्तरमा मन्त्री बस्नेत भने ‘केको नैतिकता ?’ भन्दै पत्रकारहरुलाई नै प्रतिप्रश्न गरेका थिए ।

उनले पत्रकारहरुलाई प्रश्न गरे– ‘कसैले रिस उठेर उजुरी गर्यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? पुङ न पुच्छरका कुरा लिएर हिँडेका छन्‚ उजुर गर्न आफैँ हिँड्छन् । आफूले भनेको सबै ठिक हो भन्छन् । सामान्य नैतिकता देखाएनन् भन्ने कुरा छ मन्त्रीहरुले । के हो नैतिकता ? सुन्नुस्, यो देशमा कानून छ‚ ऐन छ, कसैले रिस उठेर उजुरी गर्यो भन्दैमा प्रमाणित केही पनि नभईकन के हुन्छ नैतिकता तपाईंले सिकाउनु पर्छ ? तपाईंलाई यति पनि थाहा रहनेछ । तपाईं कहाँको पत्रकार ?’

मन्त्री बस्नेतले आफूले कल बाईपास घोटाला नियन्त्रण गर्न सो प्रविधि खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको पनि बताए । उनले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘म प्रतिप्रश्न सोध्न चाहन्छु, संसारभरि टेरामक्स लागू भएको छ। कल बाईपास गरेर गर्ने घोटालाको बारेमा सारा देशमा नियन्त्रण भएको छ। यो देशमा मात्रै किन नियन्त्रण भएको छैन? तपाईंहरु एनसेललाई ढाकछोप गर्न लागिरहनु भएको छ ।’

मन्त्री बस्नेतमाथि पनि सो घोटाला प्रकरणको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरेको थियो । मन्त्री बस्नेतले सो प्रकरणमा आफू निर्दोष रहेको र प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्