Logo
Logo

प्रहरीको गोली लागेर मृत्यु भएका जयशङ्करको परिवारलाई सरकारले १० लाख दिने


945
Shares

काठमाडौं । प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका सर्लाहीको बरहथवा नगरपालिका–६ का जयशङ्कर साहको परिवारलाई आर्थिक सहायतास्वरुप रु १० लाख उपलब्ध गराउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद यही फागुन १६ गतेदेखि लागू हुने गरी फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले सार्वजनिक खरिद (तेह्रौँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने इन्टरनेसनल मेयर अर्वाड ग्रहण गर्न स्वीकृति दिने तथा गत कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्