Logo
Logo

रहस्यमय बन्दै प्रचण्ड-ओली भेटघाट


9.7k
Shares

काठमाडौं । फागुनको पहिलो साता सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले गठबन्धन संस्कृतिलाई तत्काल कायम राख्ने निर्णय गरे पनि भविष्यमा भने सशंय उत्पन्न गरेको छ । कांग्रेसको महासमिति बैठकमा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा गरमागर्मी बहस भयो र त्यसबाट भविष्यमा चुनावी गठबन्धन नगर्ने पक्षमा बहुमत देखिँदा अहिले गठबन्धनमा रहेका वामपन्थी दलहरूमा संशय उत्पन्न गराएको छ ।

गत निर्वाचनदेखि नै गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बमोजिम माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्ष, त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको हो ।

कांग्रेससँगको गठबन्धनलाई वाम–लोकतान्त्रिकको नाम दिए पनि आखिरमा यो लामो समय जाँदैन भन्ने महसुस माओवादीका नेताहरूले कांग्रेस महासमिति बैठकपछि गरेका छन् । ‘सारमा यो गठबन्धन सरकार सञ्चालनको प्राविधिक पक्षमात्रै थियो, सैद्धान्तिक थिएन भन्ने महसुस भइरहेको छ’, नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले दृष्टिसँग भने ‘वामपन्थी दलहरूबीच सहकार्य आवश्यक छ, यो ढिलोचाडो सम्भव छ ।’

यो बीचमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्ने संकेत गरेका छन् । सरकारका मन्त्रीहरूको कामदेखि दिक्क बनेका प्रचण्डले काँग्रेससँगको सहकार्य तोड्ने संकेत गरेका हुन् । सरकारको नेतृत्व गरेको एक वर्षको समीक्षा सुनाउँदै प्रधानमन्त्री प्रचण्डले काम नगर्ने मन्त्रीलाई हटाउने बताएका थिए । तर, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र श्रममन्त्री शरदसिंह भण्डारीले उत्पन्न गरेको समस्या समाधान नगरेको विषयबाट दिक्क भएका प्रचण्डले यसै साता बसेको पार्टी संसदीय दलको बैठकमा कांग्रेसले साह्रै पेलेको गुनासो गरेका थिए ।

काँग्रेसको घेराबन्दीबाट उम्कन प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चामार्फत नेकपा एमालेसहितका कम्युनिस्ट पार्टीलाई समेटेर मोर्चा विस्तार गर्ने निर्णय गराएका छन् ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को अध्यक्षतामा यसैसाता बालुवाटारमा बसेको बैठकले एमाले मात्र नभएर माओवादी फुटाएर साना दल खोलेका सबैलाई एउटै मोर्चामा ल्याउने निर्णय गराएका हुन् । ‘समाजवादी मोर्चाको नाममा भएको यो निर्णय वामपन्थी दलहरू एक ठाउँमा उभिने एक प्रकारको कोशेढुंगा हुनेछ’, माओवादीका ती पदाधिकारीको दाबी छ । उनका अनुसार अबको चार वर्ष नै यो देशमा कम्युनिष्ट पार्टीका नेताहरूले सत्ता सम्हाल्न सक्ने सम्भावना पनि रहेको छ ।

उनका अनुसार अहिलेको प्रस्ताव एमालेले मानेमा अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री हुनेछन् । त्यसपछि एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री हुनेछन् भने पछिल्लो दुई वर्ष माओवादी र एकीकृत समाजवादीको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् । ‘यो तहबाट उच्चस्तरको सहमति आवश्यक छ, अहिलेको संवाद पनि यही तहमा छ’, माओवादीका ती पदाधिकारीले दृष्टिसँग भने ।

राष्ट्रिय सभाको निर्वाचनबाट एमालेका नेताहरू माओवादीसँग त्यतिधेरै नकारात्मक नबनेको र माओवादीले पछिल्लो समय एमालेका नेताहरूलाई गाली नगर्नुको एउटा कारण यो पनि रहेको शीर्ष एक नेताले बताए ।

शीर्ष नेताहरूको तहमा विश्वासको वातावरण बनेसँगै फेरि वामगठबन्धन बन्ने छ । एमालेले धेरै पटक अहिलेको गठबन्धनबारे स्पष्ट हुन माओवादीलाई आग्रह गरेको छ । ‘तर, त्यसका लागि पहिलो कुरा पूर्वएमाले र एमालेको बीचमा विश्वासको वातावरण बनाउनुपर्छ’, ती पदाधिकारीको दाबी छ ।

स्रोतका अनुसार वामगठबन्धन तयार गर्ने हो भने एमालेले माधव नेपाललाई स्वीकार्नुपर्छ । एमालेले पनि पछिल्ला दिनमा एक्लै बहुमत ल्याउन नसकिने आँकलन गर्दै आएको छ । मिसन ०८४ चलाएर मध्यपहाडी यात्रा गरेको एमालेले पछिल्लो पटक आफूलाई ‘रिभाइज’ गर्ने तहमा पुगेको छ ।

एमालेका शीर्ष नेताहरूले पार्टीका नेताहरूको आचारण सुधारको विषयमा केन्द्रीय सदस्यहरूसँगै सुझाव माग्नुको एउटा कारण मध्यपहाडी यात्राको क्रममा एमाले नेताहरूको जीवनशैलीलाई लिएर प्रश्न गर्नु पनि रहेको थियो ।

माघको अन्तिम सातापछि दुई पटक भएको एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको गोप्य भेटघाटले पनि वामपन्थी गठबन्धनलाई सहयोग पुर्याइरहेको स्रोतको दाबी छ । त्यसकै सुईको पाएर सरकारमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि वर्तमान गठबन्धन र सरकारको आयु काँग्रेसको हातमा रहेको अभिव्यक्ति दिएका थिए ।

संसदमा कांग्रेसका नेताहरूले माओवादी मन्त्रीको कार्यशैलीलाई लिएर प्रश्न उठाइरहेका बेला उनको यो अभिव्यक्ति पनि महत्वपूर्ण मानिएको छ । खासगरी कांग्रेस महासमिति बैठकपछि औपचारिक र अनौपचारिक दुवै भेटघाट भएका छन् । ‘ओली–प्रचण्डको भेटघाट अत्यन्तै गोप्य छ । तर, अपौचारिक भेटघाटलाई टिआरसीसँग जोडिएको छ’, माओवादी उच्च स्रोतले भन्यो, ‘कांग्रेस नेताहरूले वामपन्थीविरुद्ध आफ्नो अभिमत जारी गरिरहँदा छरिएर रहेका सबै वामपन्थीबीच सहकार्य आवश्यक देखियो ।’

स्रोतका अनुसार त्यसका लागि फेरि एमाले अध्यक्ष ओलीकै पहलकद्मी आवश्यक छ । वामपन्थी दलहरू बीचकै सहकार्यका लागि भेटघाट र छलफल बाक्लिएको बताइएको छ ।

२०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर ३२ सिटमा सीमित भएको माओवादी र ७८ सिटमा सीमित भएको एमालेका लागि आगामी निर्वाचनमा सहकार्यको विकल्प छैन । प्रचण्डले भेटघाट बाक्लो बनाउदै लगेपछि एमाले अध्यक्ष ओली पनि प्रचण्डसँग नरम देखिएका छन् । ओलीले प्रधानमन्त्री प्रचण्डका विषयमा पछिल्लो समय कडा टिप्पणी गरेका छैनन् ।

प्रधानमन्त्री प्रचण्ड पनि एमालेलाई चिढ्याउने पक्षमा देखिएका छैनन् । एमालेले मध्यपहाडी यात्रामार्फत देखेका समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने क्रममा प्रचण्डले त्यसमा लेखिएका विषयलाई सम्बोधन गर्न आफू तयार रहेको मात्र बताएनन्, सार्वजनिक रूपमै मध्यपहाडका समस्या साझा भएको अभिव्यक्तिसमेत दिएर एमालेलाई फकाउने कोसिस गरेका थिए । यसअघि पनि प्रचण्डले राष्ट्रिय सभामा एमालेलाई साथ लिनुपर्छ भन्दै गठबन्धन दलसँग कुराकानी गरेका थिए ।

अहिले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको समयमा प्रचण्डले ओलीसँग गोप्य भेटघाट गरेका छन् । ओली र प्रचण्डको भेटघाटको चाजो एमालेका सचिव रघुवीर महासेठ र माओवादीका उपमहासचिव वर्षमान पुनले मिलाएको स्रोतले बताएको छ । तर, ओली–प्रचण्डको भेटघाटमा भने उनीहरू सहभागी नभएको बताइएको छ ।

महासमिति बैठकको आसपासमा कांग्रेसभित्र २०८४ सालमा हुने निर्वाचन लक्षित बहस चलिरहेको बेला प्रचण्डले ओलीसँगको सामिप्यता बढाएपछि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा संशय उत्पन्न भएको छ ।

ओली–प्रचण्डको भेटघाट बालुवाटार र सिंहदरबारमा औपचारिक भए पनि बाहिर गोप्य भेटघाट र छलफल भएको स्रोतले दाबी गरेको छ । ‘माघ अन्तिम साता बालुवाटारस्थित उपेन्द्र महत्तोको घरमा भएको भेट नै २०७९ पुस १० पछिको पहिलो गोप्य भेटघाट हो’, स्रोतले भन्यो ।

एमाले र माओवादी मिलेर सरकार बनाउनुपर्ने कसरतमा लागेका नेताहरू नै उनीहरूको भेटघाटलाई सम्भव बनाएको स्रोतको दाबी छ । ‘हाम्रो पहल वामपन्थीहरू एक हुन भन्ने हो । तर, नेपाललमा विभिन्न शक्ति केन्द्रले वामपन्थीहरूलाई एक हुन नदिन सधैँ चलखेल गर्छन । त्यसबाट हाम्रा नेताहरू जोगिएर जानुपर्छ’, वामपन्थी गठबन्धनको गृहकार्यमा रहेका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्