
काठमाडौं । संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छन् । संसद सचिवालयका अनुसार बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।
बैठकमा आफ्नो कार्यक्षेत्रअन्तर्गतका विषयमा भएका छलफल, निर्णय र नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको कार्यान्वयन अवस्थाका साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूको सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।
त्यसैगरी दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्नेछ । बैठकमा दिगो विकासका लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्यांकन प्रतिवेदन मस्यौदामा छलफल हुने कार्यसूची रहेको छ ।
दिउँसो साढे १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुने संसद सचिवालयले जनाएको छ ।














