Logo
Logo

राउण्ड टेबल नेपालद्वारा सुनगाभा विद्यालयलाई भवन हस्तान्तरण


693
Shares

काठमाडौं । राउण्ड टेबल नेपालले सुनगाभा बाटिका नेपाल विद्यालयको भवन निर्माण सम्पन्न गरेको छ । राउण्ड टेबलले विद्यालयका लागि ६ वटा कक्षासम्पन्न एक भवन, एक बहुउदेश्यिय हल र शौचालय भवन निर्माण सम्पन्न गरि हस्तान्तरणको गरेको हो ।

करिव ५ महिना अघिबाट सुरु भएको निर्माण कार्य छोटो अवधिमा नै सम्पन्न गरेर राउण्ड टेबलले आफ्नो अर्ध– वार्षिक बैठकको अवसरमा भवन हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष मार्क जर्मेहसेन, राउण्ड टेबल नेपालका अध्यक्ष नितेश कुमार अग्रवाल, राउण्ड टेबल काठमाण्डौ–१ का अध्यक्ष कन्हैया घिराईया लगायत अन्य राउण्ड टेबलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै संस्थाले विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग, पुस्तक, स्टेसनरि तथा खाजा र खाना वितरण गरेको छ ।

हाल सुनगाभा बाटिका नेपालमा १५० बालबालिकाले अध्ययन गरिरहेका छन । एकल अभिभावक भएका बालबालिका, श्रमिकहरुको बालबालिका तथा कुलतमा लागेका अभिभावकका बालबालिकाहरुलाई हेरचाह गर्ने उदेश्यले १७ बर्ष अगाडि सुनगाभा बाटिका नेपाल विद्यालयको स्थापना गरिएको थियो ।

यस विद्यालयले बालबालिकाहरुका लागि दिवा हेरचाह केन्द्र, प्रारम्भिक प्राथमिक विद्यालय र दिवा छात्राबासको सेवा प्रदान गर्दै आइरहेको छ। संस्थाले हाल ६ महिना देखि ९ बर्ष भित्रका उमेर समुहका बालबालिकाहरुलाई भर्ना लिई निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

कमजोर पुर्वाधारका कारण बालबालिकाको शिक्षामा मात्रै नभइ स्वास्थ्यमा समेत गम्भिर प्रभाव पर्ने देखिए पछि राउण्ड टेबलले विद्यालयलाई पूर्वाधार निर्माणमा सहयोग गरेको हो ।

राउण्ड टेबल एक अन्तरराष्ट्रीय संस्था हो जसमा ४० बर्षभन्दा कम उमेरका युवाहरु सङ्गठित भै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दे आइरहेका छन् । नेपालमा राउण्ड टेबल नेपाल’ को नामले सन्चालित यस सस्थाले नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ ।

करिब ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यस विद्यालयको भवनमा राउण्ड टेबल नेपाल, राउण्ड टेबल अस्ट्रीया, राउण्ड टेबल पेरिस, एनआइएमबि बैङ्क लगायतको संस्थाहरुले आर्थिक सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्