Logo
Logo

बस बिसौनीमा सुरुभयो फल्चा बनाउने काम


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बस बिसौनीहरूमा ‘फल्चा’ निर्माण सुरु गरेको छ । महानगरपालिकाले उपभोक्ता समितिमार्फत दुइटा फल्चा निर्माण अन्तिम चरणमा पुर्याएको हो ।

मेयर बालेन साहको चुनावी घोषणापत्रमा उल्लेख भएको ‘बस बिसौनीमा परम्परागत शैलीमा फल्चा निर्माण गर्ने’ बुँदा बल्ल कार्यान्वयन सुरु भएको हो । चुनाव जितेर आएपछि सार्वजनिक गरिएको आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो नीति तथा कार्यक्रममा उनले काठमाडौं महानगरभित्रका बस स्टपहरूमा प्रतिक्षालयका रूपमा फल्चा निर्माण गर्न विभिन्न संघसंस्थालाई प्रोत्साहित गर्ने उल्लेख गरेका थिए ।

‘काठमाडौंका बस स्टपहरूमा फल्चा निर्माण गर्न महानगर आफैंले पनि लगानी गर्नेछ,’ त्यसबेला मेयर बालेनले भनेका थिए, ‘बस स्टपहरूमा परम्परागत फल्चा निर्माण गर्ने छौं ।’ तर गत आवमा उनले काम सुरु गर्न सकेका थिएन्न ।

यस्तै काठमाडौं–१० बिजुली बजार पुल नजिकै र बबरमहल औषधि विभाग अगाडि उपभोक्ता समितिमार्फत फल्चा निर्माण अन्तिम चरणमा पुगेको छ । फल्चा निर्माण संयोजन गरिरहेका १० नम्बर वडा सदस्य सतिस तण्डुकारका अनुसार करिब ६२ लाख खर्चमा उपभोक्ता समितिले निर्माण सकाउन लागेको हो ।

पूर्णरूपमा अग्राखको काठले निर्माण भएको फल्चामा परम्परागत शैलीका बुट्टा कुँदिएको छ । ‘हामीले पाटन क्षेत्रका काठमा काम गर्ने काष्ठकर्मीहरू मार्फत बुट्टा बनाएका हौं । यो सामान्य विश्रामस्थल भन्दा फरक रहन्छ,’ उनले भने ।

उनले फल्चा निर्माण भइसकेपछि इन्टरनेट, खानेपानी, स्थानका जानकारी सहित नक्सा लगायत हुने बताए । ‘हुन त यो बस बिसौनी हो, तर यसमा ऐतिहासिक भौतिक संरचनामा आधुनिक सुविधा दिन खोज्दै छौं,’ उनले भने । फल्चाको आयु ५० वर्षभन्दा धेरै हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्