
काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग परराष्ट्रमन्त्री तहमा आगामी बिहीबार हुने तय भएको टेलिफोन वार्ता अन्यौलमा परेको छ । रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्यौलमा परेको हो ।
परराष्ट्र मन्त्रालयले यस विषयमा गृहकार्य भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृतबहादुर राईले यस विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइसकेको र पूर्वनिर्धारित समयअनुसार वार्ताको तयारी गरिरहेको बताए ।
‘हाम्रा मन्त्री र रुसी समकक्षीबीच टेलिफोन संवादका लागि सम
य मिलाइ सकिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालयसँग छलफल गरेर गृहकार्य भइरहेको छ,’ प्रवक्ता राईले भने ।
परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि रुसी विदेशमन्त्री सर्गेइले नेपाली समकक्षीसँग ७ मार्च अर्थात २४ फागुनमा मा टेलिफोन वार्ता गर्ने तय भएको थियो । यस विषयमा छलफल गर्न आफैं रुस जाने इच्छा देखाएका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी सर्गेइसँग लामो समयदेखि संवादको प्रयास गरिरहेका थिए ।
त्यसका लागि उनले नेपालमा रहेको रुसी दूतावास र मस्कोमा रहेको नेपाली दूतावासमार्फत समेत प्रक्रिया अगाडि बढाएका थिए । तर रुसले उनलाई स्वागत गर्न तयार भएको थिएन भने अन्तिम समयमा टेलिफोन वार्ताका लागि तयार भएको थियो ।














