काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन् । बुधबार बिहान अध्यक्ष नेपाललाई भेट्न देउवा कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए । सोक्रममा सभापति देउवाले अध्यक्ष नेपालसँग सहकार्यको प्रस्ताव गरेका हुन् ।
‘उहाँले सहकार्यलाई निरन्तरता दिएर जाऔं भन्ने कुरा गर्नुभएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने । देउवासँगको भएको कुराकानी अध्यक्ष नेपालले सचिवालयको बैठकमा राख्ने बताएका छन् । एकीकृत समाजवादीको सचिवालयल बैठक अहिले बस्दैछ ।

भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर अध्यक्ष नेपालसँग कुरा भएको बताए ।
अध्यक्ष नेपाललाई मंगलबार बेलुकी नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भेटेर सहकार्यको प्रस्ताव राखेका थिए । नयाँ गठबन्धनमा सामेल भएर सरकारमा जाने कि नजाने भन्ने एकीकृत समाजवादीले आजको सचिवालय बैठकबाट निर्णय गर्ने तयारी गरेको छ ।














