
काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको दुबै प्रदेशको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई बर्खास्त गरेका थिए ।
त्यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पनि माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए । मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो । आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलिपल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको हो ।














