काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसा घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दुर दराजका गाउँहरूमा आज पनि महिलाहरू शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् ।’

साथै, उनले महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरूक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरूमा महिलाको योगदान र नेतृत्व रहेको उनको भनाइ छ ।














