
काठमाडौं । आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्रि पर्व देशभर मनाइँदैछ । काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीले भरिएको छ । बिहान ३ बजेतिरबाटै जयबागेश्वरी, गौशाला, तीलगंगाबाट पशुपतिनाथ दर्शनका लागि भक्तजन लाम लागेका छन् । मन्दिरका चारैवटा ढोका खोलिएका छन् ।
त्यस क्षेत्रमा सवारी आवागमन व्यवस्थित गर्न गौशालातिरबाट जाने सवारी साधनलाई चाबहिल, पुरानो–बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै पोखरा फेवाताल किनारामा रहेको केदारेश्वर महादेव मन्दिर, धनगढीको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा रहेको शिवलिङ्ग, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिव मन्दिरमा रहेको एउटै ढुङ्गाले बनेको भगवान् शिवको अर्धनागेश्वर मूर्तिमा गाईको दूध, बेलपत्र चढाउन आज विहानैदेखि भक्तजनको भीड लागेको हो ।




























