काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी र आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आक्रोश पोखेका छन् ।
महामन्त्री गगनकुमार थापा, पार्टीका संसदीय दल प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर गएका सिटौलाले ‘यो धोकाधडी त्यसै नटुंगिने’ भन्दै प्रचण्डलाई चेतावनी समेत दिएका छन् ।

‘यो धोकाधडी मेरो पार्टी कांग्रेसले मात्रै होइन, व्यक्तिगत रुपमा मलाई पनि धोका भएको छ । यो त्यसै टुंगिन्छ भन्ने नठान्नुहोला,’ सिटौलाको भनाई उत्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री प्रचण्डले गठबन्धनको ‘काँध’ फेरेपछि कांग्रेस नेताहरू पहिलोपल्ट औपचारिक रुपमा प्रधानमन्त्रीलाई भेटेर गठबन्धनका भत्काएकोमा आपत्ति जनाएका हुन् ।
‘करिब आधा घण्टाको कुराकानीका क्रममा सिटौलाले प्रचण्डसँग सबै कुरा राखेका थिए । सुरुवातमै उनले कुरा राख्दै ‘तपाईले नै होइन, मलाई बैठकमा राष्ट्रियसभाको अध्यक्ष सिटौलाजीलाई बनाउने हो भने हामी समर्थन गर्न तयार छौं भनेर भन्नु भएको ? नत्र म राष्ट्रियसभामा जाने वाला पनि थिइनँ । मेरो दलले बनाउने वाला पनि थिएन । अब तपाईले किन बनाउनु भएन ?,’ सिटौलाको दाहालसँग प्रश्न थियो, ‘फागुन १७ गते बिहान मैले तपाईलाई भेटेँ । २० गते आउँछु भनेर म बाहिर गएँ, तपाईंले हुन्छ भन्नु भयो । तपाईसँग प्रत्येक दिन म सम्पर्कमा छु । संवादमा छु । अहिले तपाई ३÷४ महिनादेखि केपी ओलीसँग संवादमा थिए भन्नु हुन्छ, यो सबै छल भएन ?’
कांग्रेस नेताहरूले एकपटक पनि जानकारी नगराई गठबन्धन भत्काएकोमा रोष प्रकट गरेका थिए । प्रचण्डसँग सिटौलाले मात्रै कुरा राखेका थिए ।
‘मसँग तपाईंको के समस्या थियो ? सभापति भनेको त एउटा पोजिसन भएको मान्छे हो । म सभापति नभएर पनि तपाईसँग निकट भएकाले सबै कुरा मिलाउन व्यक्तिगत रुपमा लागिरहेको थिए । यो विश्वास घात गर्नु नै थियो भने भनेरै गरेको भए हुने थियो । यस घटनाले तपाईं भविष्यमा पछुताउनु पर्छ,’ सिटौलाले थपे ।
स्रोतका अनुसार प्रचण्डले लामो पृष्ठभूमिका साथ तत्कालीन गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा सहयोग नगरेको प्रसङ्ग स्मरण गर्दै सिटौलालाई थामथुम पार्ने प्रयास गरेका थिए ।
उनले पार्टीभित्रैबाट समस्या भएको बताएको जनाइएको छ । पार्टीको स्थायी समितिको बैठकमा शतप्रतिशत पार्टीले उम्मेदवार अघि सार्नुपर्ने मत रहेको र आफू एक्लो परेको कुरा दाहालले दोहो¥याएका थिए ।
‘भोलिको दिनमा तपाईहरूसँग सहकार्य हुन्छ नै, शान्ति प्रक्रिया, संविधानको कार्यान्वयन, संघीयता, राष्ट्रियताका मुद्दामा हामी सबै सहकार्य गर्नुपर्छ, यतिकै सम्बन्ध सबै टुंगिएको हो भनेर सोची दिन भएन,’ प्रधानमन्त्रीको जवाफ थियो ।
निस्कने बेलामा सिटौलाले थप्दै भने, ‘राष्ट्रियसभाको विषय ल्याएर तपाईंले मलाई जसरी विश्वास घात गर्नुभयो, यो कुरा यसरी नै सजिलै टुंगिन्छ भन्ने नठान्नुहोला ।’ त्यसमा दाहालको जवाफ थियो, ‘भोलिका दिनमा तपाईहरूसँग सहकार्य हुन्छ नै । शान्ति प्रक्रिया, संविधानको कार्यान्वयन, राष्ट्रियता, संघीयतामासँगै सहकार्य गरेर जानुपर्छ ।’














