
काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता आज पनि हुने भएको छ ।
हिजो सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीचको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । हिजोको वार्तामा सरकार आफूहरुका मागहरुप्रति सकारात्मक रहेको सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुसवाहले बताए ।
त्यस्तै सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले सरकार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुरहरुको समस्या समाधान गर्न आयोग गठन गर्न सहमत भएको जानकारी दिए । आज बिहान ११ बजे बस्ने वार्तामा अब बन्ने आयोगको क्षेत्राधिकार, कार्यदिशा र शर्त लगायतका विषयमा छलफल हुने उनले बताए ।
मिटरब्याजपीडितहरु अधिकारसम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका हुन् । उनीहरु ४२ दिनदेखि निरन्तर सडक आन्दोलनमा रहेका छन् ।














