Logo
Logo

घरघरमा कोरोनाको डर


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


– रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
कोरोना भाइरस (कोभिड–१९) का अगाडि आज सारा विश्व निरीह बनेको छ । को विकसित, को धनी, को गरीब, कसैलाई पनि कोभिड–१९ले छोडेको छैन । यस महामारीबाट हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस यसबाट संक्रमित भइसकेका छन् । संक्रमित हुने क्रम दिन प्रतिदिन बढ्दो छ ।

नेपालमा कोरोनाको परीक्षण केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै हुने गरेको छ । त्यसलाई विस्तार गरेर प्रत्येक सरकारी अस्पतालमा अविलम्ब परीक्षणको व्यवस्था गर्नुपर्दछ । कसैलाई कोरोना पोजेटिभ देखिएमा सोही अस्पतालमा बिरामीलाई भर्ना गरी उपचार गर्नुपर्दछ । यसो गर्न सकिएन भने त्यसले भयावह स्थिति निम्त्याउँछ । पोजेटिभ बिरामीलाई तुरुन्तै आइसोलेसनमा राखेर उपचार गर्नैपर्दछ ।

सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम सातामा चीनको उहानमा देखिएको यो रोग चीनले अभूतपूर्व रुपमा नियन्त्रण गर्न सफलता प्राप्त गरेको छ । अहिले यस महामारीको केन्द्रविन्दु युरोप र अमेरिका हुन पुगेको छ । अब यसको विस्फोट दक्षिण एशियामा हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

यस्तै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ बाट नेपाली जनतालाई जोगाउन भारत र चीनको सीमाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको छ । १७५१ किलोमिटरको नेपाल–भारत सीमामा ३९ मोटेरेवल र १२५ सामान्य नाका छन् । चीनतर्फ दुई मोटेरेवल र अन्य चार वटा नाका छन् । चीनतर्फको नाका त डिसेम्बरदेखि बन्द नै छ । भारततर्फको १७५१ किलोमिटरको खुला सीमालाई हामी ‘सील’ गर्न सक्छौँ कि सक्दैनौँ ? यो नेपालका लागि ठूलो अवसर र चुनौती हो । अवसर यस मानेमा कि नेपालको इतिहासमा पहिलोपल्ट नेपाल–भारत खुला सीमा बन्द गर्ने निर्णय भएको छ । नेपाल सरकारलाई आफ्ना जनताको स्वास्थ्य सुरक्षाका लागि क्षमता देखाउने अवसर प्राप्त भएको छ । चुनौती यस मानेमा कि कहिल्यै बन्द नभएको नेपाल–भारतबीचको खुला सीमालाई हामी सिल गर्न कत्तिको सक्षम छौँ ? यो भविष्यको लागि ठूलो पाठ हुनेछ ।

यसैबीच, उत्तरी छिमेकी चीनले कोरोनासँग लड्नको लागि नेपाललाई खुला हृदयले जुन सहयोगको प्रस्ताव राखेको छ, त्यसलाई अविलम्ब स्वीकार गर्नुपर्दछ । यस महामारीबाट नेपाली जनतालाई जोगाउनाका निमित्त चिनियाँ सहयोग लिन खुट्टा कमाउनु हुँदैन । अविलम्ब चिनियाँ विशेषज्ञ डाक्टरहरुलाई नेपाल बोलाई यस महामारीविरुद्ध लड्ने रणनीति बनाउनु पर्दछ र चाहिएको सहयोग लिनु पर्दछ । आज विश्वमा यस महामारीविरुद्ध लड्न सकेको मुलुक भनेको चीन नै हो । उसले यस महामारीविरुद्ध आफूले सफलता प्राप्त गरेर इरान, इटाली र फ्रान्सलगायत देशलाई सहायता गरेर विश्वप्रतिको आफ्नो दायित्व निर्वाह गरिरहेको छ । कोभिड–१९ विरुद्ध लड्नका लागि सहयोग गर्न सक्ने मुलुक चीन मात्र हो ।

नेपालमा कोरोनाको परीक्षण केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै हुने गरेको छ । त्यसलाई विस्तार गरेर प्रत्येक सरकारी अस्पतालमा अविलम्ब परीक्षणको व्यवस्था गर्नुपर्दछ । कसैलाई कोरोना पोजेटिभ देखिएमा सोही अस्पतालमा बिरामीलाई भर्ना गरी उपचार गर्नुपर्दछ । यसो गर्न सकिएन भने त्यसले भयावह स्थिति निम्त्याउँछ । पोजेटिभ बिरामीलाई तुरुन्तै आइसोलेसनमा राखेर उपचार गर्नैपर्दछ ।

अहिले हामीले दुई तीन लाख परीक्षण किटको व्यवस्था गर्नुपर्दछ । देशैभरिका अस्पतालमा भेन्टिलेटरका साथै आइसीयूको व्यवस्था गर्नुपर्दछ । यो सबै लडाइँ लड्नका लागि सरकारले सर्वप्रथम स्वास्थ्य सेवाका कर्मचारीहरुलाई उनीहरुको सुरक्षाका लागि चाहिने उपकरण र पोशाकको व्यवस्था गर्नु पर्दछ । डाक्टर, नर्स नै रहेनन् भने बिरामीको उपचार कसले गर्ने ? यसलाई राज्यले गम्भीरतापूर्वक लिई पहिलो स्वास्थ्यकर्मीहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस महामारीविरुद्ध लड्नु पर्दछ ।

यस महामारीबाट जोगिने सबभन्दा प्रभावकारी उपाय भनेको एकान्तबास नै हो । समय समयमा सरकारले दिएको निर्देशनलाई पालना गरौँ । सरकार पनि यस आपतकालीन परिस्थितिमा जनतालाई आफूले गर्नुपर्ने दायित्वप्रति विमुख नहोस् ।

twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्