
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मकवानपुरमा आज सयजना भन्दा बढी युवा प्रवेश गरेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, केन्द्रजस्ता राजनीतिक दलमा आवद्ध युवाहरु मंगलबार हेटौंडामा आयोजित एक विशेष समारोहमा पार्टी प्रवेश गरेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले जानकारी दिए ।
विगतमा एमालेको अभियानमा साथ दिँदै आएका मकवानपुर मनहरी ३ का युवा रोशन बलको नेतृत्वमा युवाहरुको ठूलो समूह समाजवादीमा आबद्घ भएको हो । देश र जनताको भविष्य निर्माण अब एकीकृत समाजवादीले मात्रै सम्भव हुने बुझेर आफू नेतृत्वमा संयौंको संख्यामा युवाहरु प्रवेश गरेको बलले बताए ।
पार्टीमा प्रवेश गरेका युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले टिका र खादा लगाउँदै स्वागत गरे । पार्टीका प्रभावशाली नेता खतिवडाले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाएर एक पटक मुलुकको शासन गर्ने तयारीमा लाग्नुपर्ने बताए ।
विगतमा पनि थोरै सङ्ख्यामा सुरु भएको कम्युनिष्ट पार्टी पछि ठूलो हुँदै देश हाँकेको उदाहरण हामीबीचमै रहेको भन्दै खतिवडाले नीति, नेतृत्व अनि व्यवहार ठीक भएको खण्डमा सफलता मिल्ने बताए । ‘पार्टी निर्माणको अभियानमा तपाईहरु पनि जोडिनुभएको छ । ’
उनले भने, ‘विद्यार्थीहरु विद्यार्थी संगठन, युवाहरु युवा संगठन र पार्टीमा जोडिएर राजनीति गर्न चाहनेहरु अहिले पार्टी वडामा जोडिएर काम गर्न सक्नुहुन्छ ।’ प्रवेश गरेका युवाहरुलाई उनीहरुको रुची अनुसारको जिम्मेवारी पार्टीले दिने बताउँदै जनताको दुःखमा अगाडी उभिदिने गरौं लागेमा जनताले विश्वास गर्न थाल्ने बताए ।
पार्टी पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रिय सदस्य, संविधानसभा सदस्य राजाराम स्याङतान, जिल्ला उपसचिव किशोर टण्डन, कार्यालय सचिव तिलक अधिकारी प्रचार विभाग प्रमुख रामकुमार एलन, जिल्ला कमिटि सचिवालय सदस्य गणेश कठायत, किशोर बर्तौला लगायतको आतिथ्यता थियो ।














