
काठमाडौं । सरकारसँग सहमति भए पनि १५ जना मिटरब्याज पीडित घर फर्कन मानेका छैनन् । फर्जी कागज बनाएर साहुले मुद्दा हालेर पक्राउ पुर्जी जारी भएको भन्दै उनीहरु पक्रिने डरले घर फर्कन नसकेका हुन् ।
२३ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौं आएका पीडितहरुमध्ये १५ जना माथि पक्राउ पुर्जी जारी छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले काठमाडौं आएका करिब १ हजार ७ सयमध्ये धेरैजसो मंगलबार नै घर फर्किसकेको बताए ।
उनले १५ जना भने जिल्लामा पक्राउ पुर्जी भएकाले घर फर्कन नमानेको उनले सुनाए । नविनका अनुसार ती पीडितहरु अहिले काठमाडौंमा छन् ।
‘फर्जी कागज बनाएर साहुले मुद्दा हालेर पक्राउ पुर्जी जारी भएकाहरु फर्किन सक्नुभएको छैन । पक्राउ पर्ने डरले उहाँहरु घर फर्कने अवस्था छैन’, उनले भने, ‘उनीहरु बाँके, बर्दिया र सुर्खेतका मिटरब्याज पीडित हुन् ।
संघर्ष समितिका प्रवक्ता समेत रहेका नविनले गृह मन्त्रालय मार्फत पहल गरेर पक्राउ नपर्ने सुनिश्चित गरेर घर फर्काउने कोशिस गरिएको बताए । सोमबार सरकार र मिटरब्याज पीडितबीच ४ बुँदे सहमति भएको थियो ।














