काठमाडौं । संघमा नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ । नयाँ गठबन्धन बनेसँगै कोशीमा एमाले–माओवादीसहितको सरकार सजिलै बन्नसक्ने अवस्था छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् ।

कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् । गणितीय हिसाबले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार संकटमा परेपछि कांग्रेसले आन्तरिक छलफल थालेको छ ।
सभापति शेरबहादुर देउवाले बिहीबार नेताहरुसँग छलफल गरेका छन् । सभापति देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।
देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा कोशी प्रदेश सरकारको सन्दर्भमा के गर्ने भन्नेबारे छलफल भएको एक नेताले बताए । बैठकमा सरकारलाई निरन्तरता दिने विकल्पबारेमा पनि छलफल भएको बताइएको छ ।
गत असोज २७ गते कार्की मुख्यमन्त्री बनेका थिए । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार कार्की २७ कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसदबाहेक कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले विश्वासको मत दिएका थिए । अहिले पनि विश्वासको मत कायमै छ ।
तर, कोशीमा अहिलेसम्म अर्को सरकारको विकल्प देखिएको छैन । कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि संवैधानिक र कानुनी आधारमा वैकल्पिक सरकार गठन हुने निश्चित भएपछि मात्र आवश्यक निर्णय लिने बताएका छन् ।
‘अहिले नै स्थीरता र अन्यौलता सिर्जना गर्ने भूमिका हामीबाट हुँदैन’ उनले भने, ‘अहिलेसम्म मुख्यमन्र्त्री कार्कीलाई हाम्रो समर्थन कायमै छ ।’














