Logo
Logo

विवादित व्यक्ति नै अध्यक्षका दावेदार


2k
Shares

बाह्रबिसे । तस्करी गर्न र राजस्व छल्न पाउनुपर्छ भनेर रसुवा नाका बन्द गर्ने पात्रका रुपमा चिनिएका बुद्धराज बस्नेत सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष हुने चलखेलमा लागेका छन् ।

डा. प्रकाशशरण महत अर्थमन्त्री भएपछि उनका भान्जा अरुण थापासँग मिलेर रसुवा नाकाबाट प्रति कन्टेनरदर रेट तोकेर तस्करी गराउँदैआएका बुद्धराज बस्नेत अब सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष हुनका लागि साम दाम सब हत्कण्डा प्रयोग गरेर लागेको स्रोतले बताएको छ ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेदवारहरु

आगामी चैत ९ र १० गते हुने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २६ औं साधारणसभा एवं एघारौं अधिवेशनले नेतृत्व चयन गर्दैछ । संघको अध्यक्षका लागि अमृत कार्की, शम्भु तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । अमृत कार्की वर्तमान उपाध्यक्ष हुन् । तिमल्सिना वर्तमान महासचिव हुन् ।

खत्री पूर्वअध्यक्ष बिष्णु खत्रीका भाइ हुन् । अध्यक्षका दाबेदारहरूमध्ये आफ्नै ब्रान्डमा ब्यापार गर्ने खत्री एकमात्र ब्यापारी हुन् । प्रहरीका उच्च अधिकारीदेखि अर्थप्रशासनको उच्च तहसम्म खत्रीका राम्रो पहुँच छ । बस्नेतले २०७३ कांग्रेसबाट माओवादी भएका र २०७९ मा फेरि कांग्रेस छाडेका थिए । उनी संघका पूर्वपदाधिकारी हुन् ।

बुद्धराज बस्नेत जस्ता अवसरवादीलाई समर्थन गर्ने पक्षमा बाह्रबिस नगरपालिकाका मेयर बालकृष्ण बस्नेत पनि छैनन् । उनले ब्रान्डेड सामान ल्याउन र कम मूल्यको भनेर भन्सार छली मात्र नगरी रसुवा नाकाबाट इलेक्ट्रिक सिगरेट (भेप)को तस्करी गराउनसमेत भूमिका खेलेको आरोप छ ।

भन्सार विभागले अनुगमन गर्दा कपडाको प्रज्ञापनपत्रमा भेप भेटिएपछि उनले तस्करी गर्न पाउनुपर्ने माग गर्दै क्यारिङवालाहरूलाई धम्की दिएर भन्सारबाट सामान नै छुटाउन नदिँदा रसुवा भन्सार गएको पुसमा १५ दिन बन्द भएको थियो । वर्तमान अध्यक्ष होमबहादुुर बस्नेत (राजकुमार) बुद्धराजलाई अध्यक्ष बनाउन लागेका छन् ।

क्षमादवी गु्रपका संचालक बस्नेतले केसी कन्ट्रक्सनसँग मिलेर सिंहदरबारस्थित संसद भवनका इन्टेरियर डिजाइनको ठेक्का लिएका छन् । संसद भवन निर्माण नसकिँदै सेटिङमा २ अर्ब ६४ करोड रुपैयाँमा इन्टेरियर डिजाइनको ठेक्का यसअघिकी सहरी विकासमन्त्री सीता गुरुङले दिएकी थिइन् ।

केसी कन्ट्रक्सनका बिजय मानन्धर र क्षमादेवीका राजकुमार बस्नेतले ९० करोड लागत स्टीमेट बढाएर ठेक्का लिएकाले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागमा उजुरीसमेत परेको छ ।

संसद भवनको इन्टरेरियरको ठेक्कामा तत्कालीन मन्त्री गुरुङ र सचिव र विन्द्रनाथ श्रेष्ठले ५ प्रतिशत अग्रिम मागेका थिए । ५ प्रतिशत दिन आनाकानी गरेपछि तत्कालीन मन्त्री गुरुङले ठेक्का नै रद्द गर्न धम्की दिएकी थिइन् । सामान्य क्यारिङको काम गर्ने राजकुमार बस्नेत २०७५ देखि इन्टेरियरका सामानको कारोबारमा लागेका हुन् । तर, ५ बर्षको बीचमा अकूत सम्पत्तिका मालिक भइसकेका छन् ।

बस्नेतको क्षमादेवी ग्रुपमा बिराटनगरदेखि विभिन्न भन्सार कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गरेका राजस्व समूहका कृष्ण बस्नेतदेखि मन्त्री हुँदा चरम भ्रष्टाचारमा मुछिएका मोहनबहादुर बस्नेतको समेत लगानी रहेको चर्चा सिन्धुपाल्चोकका ब्यापारीहरूबीच हुने गरेको छ । टेरामक्स खरिद प्रकरणमा अरबौंको घोटाला गरेका मोहन बस्नेतका बिरुद्ध अख्तियारले छिट्टै मुद्दा दायर गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्