
काठमाडौं । काठमाडौं महानगरपालिका वडा ८ भित्र रहेका ऐतिहासिक पुरातात्विक तथा लोपोन्मुख रहेका वस्तुहरूको उत्खनन कार्यको शुरूवात भएको छ ।
काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभाग संयोजक एवं वडा ८ का वडाअध्यक्ष आशामान संगतको पहल कदमीले वडा भित्र रहेका विभिन्न सांस्कृतिक तथा मासिएका साथै दवाइएका कुवा, इनार, धारा लगायतका पाटीपौवाको खोजी कार्य थालिएको हो ।
‘काठमाडौँ महानगरपालिका वडा ८ भित्र रहेका नौ वटा इनार, नौ वटा डबली, नौ वटा ढोका, नौ वटा शक्तिपिठ, नौ वटा टोल, नौ वटा ढुङ्गेधारा, नौ वटा जात, नौ वटा पोखरी, नौ वटा पाटीपौवा तथा पुरातात्त्विक ऐतिहासिक संरचनाहरुको संरक्षणका निमित्त उत्खनन शुरूवात गरिएको,’ वडाअध्यक्ष आशामानले बताए ।
उनले काठमाडौँ महानगरपालिकापालिका वडा ८ अन्तरगत पर्ने ताम्रेश्वर मन्दिर परिसरबाट वासुसशी गल्ली जाने तर्फको ऐतिहासिक, पुरातात्त्विक इनारको उत्खनन कार्यसँगै वडा भित्र रहेको सम्पूर्ण ऐतिहासिक वस्तुहरूको उत्खनन कार्यको शुरूवात भएको बताए ।
पुरातात्त्विक इतिहासिकले भरिपूर्ण सम्पदाहरूको उत्खननमा वडाले स–प्रमाण सहित खोजी कार्य अगाडि बढाएको उनले बताए । यस अन्तरगत पर्ने जयवागेश्वरी युवा क्लबको अगाडि रहेको इन्द्रेश्वर महादेव परिसरमा रहेको इनारको पनि उत्खनन कार्य गरिने छ ।
त्यस्तै, जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर परिसर जाने बाटोमा रहेको इनार तथा इटापाखाको पिपल बोट सँगै रहेको इनार समेत खोजी गरी स–प्रमाण उत्खननको तयारी रहेको छ ।
त्यस्तै, करिब ४०–५० वर्ष अगाडिदेखि स्थानीयवासीले त्यहीँ इनारको पानी पिउने तथा ताम्रेश्वर महादेवलाई जल अर्पण गर्ने गरेको बृद्धवृद्धाहरूको भनाई रहेको छ । उनीहरूका अनुसार उक्त परिसरमा बस्ती बाक्लो भएसँगै वरपरका स्थानीयले इनारलाई पुरेर दवाएर कंक्रिट बनाएर त्यसमाथि बाटो बनाएको छ ।
उक्त गल्लीलाई वडा ८ भित्रको सबैभन्दा ठुलो गल्लीका रूपमा पनि लिने गरिएको छ । साथै उक्त इनारलाई वडा भित्रको सबैभन्दा लामो इनारका रूपमा पनि लिने गरिएको थियो ।
बस्ती विस्तार भएसँगै काठमाडौँ लगायतका स्थानहरूको कयौं पाटीपौवा, धारा, इनार, डवली लगायतका वस्तुहरूको लोप भएको उनले बताए । त्यस्तै, त्यस्ता सांस्कृतिक संम्पदाको उत्खनन सँगसँगै पुरातात्त्विक वस्तुहरूले पुनः मूर्त स्वरूप लिने वडाअध्यक्ष संगतले बताए ।














