काठमाडौं । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ । पार्टीले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ ।
अपानी जारी गर्दै अध्यक्ष माधव नेपालले अन्योलमा नपरी महाधिवेशनमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ । फागुन २१ गते गठबन्धन बदलिएसँगै उसले यसबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको हो ।

‘हाम्रो पार्टी हिजो एउटा गठबन्धनमा सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ । हाम्रा मन्त्रीहरुबाट परिणाममुखी काम होऊन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियोस् भनेर हामीले प्रयास गर्नुपर्छ’ अपानिमा भनिएको, ‘त्यसका लागि हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नु पर्छ। तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ ।’
महाधिवेशन तयारीका लागि कमिटी गठन
एकीकृत समाजवादीले महाधिवेशनका लागि विभिन्न १३ वटा कमिटी गठन गरेको गरेको छ । अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरिएको छ । जसमा सचिव घनश्याम भुसाल, केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ ।
पार्टीका सम्मानीत नेता झलनाथ खनालको संयोजकत्वमा २४ सदस्यीय अतिथि सत्कार कमिटी गठन गरिएको छ । उपाध्यक्ष डा.बेदुराम भुसालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी, अर्का उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा अर्थ परिचालन कमिटी गठन गरेको छ ।
यस्तै, रामचन्द्र झाको संयोजकत्वमा संस्कृति तथा कला साहित्य कमिटी, विजय पौडेलको संयोजकत्वमा जनपरिचालन तथा यातायात कमिटी, जगनाथ खतिवडाको संयोजकत्वमा प्रचार–प्रसार कमिटी, नागेन्द्र चौधरीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन कमिटी, सावित्री भुसालको संयोजकत्वमा आवास व्यवस्थापन कमिटी, केदार संजेलको संयोजकत्वमा खाद्य व्यवस्थापन कमिटी गठन गरिएको छ ।
त्यस्तै, गंगालाल तुलाधरको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन कमिटी, केशवकुमार बिस्टको संयोजकत्वमा स्वयंसेवक परिचालन कमिटी र घनश्याम भुसालको संयोजकत्वमा सचिवालय कमिटी गठन गरिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन अपानि–१३ जारी गर्दै महाधिवेशनको तयारीकै रूपमा ‘संगठन तथा सदस्यता विस्तार अभियान–२०८०’ सञ्चालन गरेको पनि जानकारी दिएका छन् ।
अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वाभाविक भएपनि त्यसले पार्टीको अभियान र महाधिवेशन प्रभावित पार्नु हुँदैन भन्ने कुरामा सम्पूर्ण पार्टी पंक्ति स्पष्ट हुनुपर्ने पनि अध्यक्ष नेपालले भनेका छन् । एकीकृत समाजवादीले महाधिवेशनको तयारीसँगै वामपन्थी एकीकरणलाई प्राथमिकता दिएको छ ।














