
भोजपुर । कोशी प्रदेश सरकारले हतुवागढीका आगलागी पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै आगलागी क्षेत्रको स्थलगत अनुगमनका क्रममा प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।
यही चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार रु. एक लाखका दरले आर्थिक सहयोग गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो ।
प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम गरेको मुख्यमन्त्री कार्कीले बताए । मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही राहत होस् भन्ने ठानेर रकम प्रदान गरिएको उनले बताए ।
भोजपुरलाई तराईका जिल्लासँग हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको पुलको मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेको छ ।














