
घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षका भए। कक्षा पाँच पढ्दापढ्दै उहाँको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनीँ अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेका छन् ।
‘मलाई पढ्न लेख्न आउँदैनथ्यो । अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु’, उनले भने, ‘शिक्षक, साथी र परिवारको सहयोगले अगाडी बढ्न सजिलो भएको छ ।’ स्कुल गएको सुरुआती दिनमा सीतालाई डर र लाज लागेको थियो । अहिले सजिलो भएको उनले अनुभव सुनाए ।
सीताले जागीर खानका लागि पढ्नुभएको हैन । शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनले बताए । उनी दुई वर्ष अघि कक्षा ६ मा भर्ना हुनुभएको थियो । कक्षा ६ मा मेहनत गरेर राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताए ।
‘विवाहपछि पढ्ने कोसिस गरेँ तर घरायसी कामकाजले पढ्न पाइनँ । लामो समयपछि पढ्ने रहर जाग्यो । अहिले निरन्तरता दिँदैछु’, उनले भने, ‘मेरा दुई छोरा र श्रीमान्बाट साथ सहयोग पाएकोले पढ्न सजिलो भएको छ ।’
पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो । अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन् । घरको कामकाजसँगै विद्यालय नियमित जान पाएकोमा उनी खुसी छन् । पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने खनालको भनाइ छ ।
सहपाठीले ‘आन्टी’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उनले बताए । ढिलै भएपनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उनले बताए ।
सीतामा पढाएको कुरा बुझ्ने, सिक्ने क्षमता भएको विद्यालयका शिक्षिका सुनिता शर्माले बताए । सीता खनालले देखाएको अनुशासन र लगनशीलताका कारण कक्षाकोठा प्रभावकारी हुने गरेको शिक्षिका उनको भनाइ छ । पढाइलाई निरन्तरता दिइ कक्षा १२ उत्तीर्ण गर्ने योजना रहेको उनले सुनाए ।














