काठमाडौं । आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसमा ७ जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले आंकाक्षीमध्ये ७ जनाको नाम आज सिफारिस गरेको हो ।

समिति सिफारिस गरेकाहरुमा पहिलो नम्बरमा भेषराज आचार्य, दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरिएको छ । खड्का गत निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।
पहिलो नम्बरमा नाम सिफारिस गरिएका आचार्य २०७० को निर्वाचनमा पराजित भएका थिए । नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस भएको छ । अब कांग्रेसको संसदीय बोर्डले उम्मेदवार सिफारिस गरिएकामध्येबाट उम्मेदवार चयन गर्नेछ ।
एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा १५ वैशाखमा निर्वाचन हुँदैछ । एमालले उम्मेदवारको टुंगो लगाएपछि सुहाङ नेम्वाङले चुनावी अभियान थालेका छन् भने स्वतन्त्र उम्मेदवार मिलन लिम्बूले पनि चुनावी प्रसारलाई तिब्र बनाएका छन् ।














