काठमाडौं । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनको लागि ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन मार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा एक प्लाटुन टोली चौबिसै घण्टा सीमा गस्तीमा तैनाथ रहनेछ ।

सीमासँग जोडिएका जिल्लाहरूका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैर कानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको हो । यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ ।
जिम्मेवारी इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितिहरूको बारेमा जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणको बारेमा जानकारी अद्यावधिक हुनगई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकहरूसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्य अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वाससमेत लिइएको छ ।
सीमा गस्ती अन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेसहरू समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोवस्तीका सामाग्रीसहित परिचालन हुनेछ भने एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती संचालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग लिंंकअप गरी गस्तीलाई चक्रको रुपमा निरन्तरता दिनेछ ।
आवश्यकता बमोजिम स्थानीयवासी, जनप्रतिनिधि, अन्य निकाय तथा समकक्षीहरूसँग भेटघाट, अन्तरक्रिया, विपद् जोखिम न्यूनीकरण, मानव बेचबिखन तथा सीमा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुकासाथै तराईका जिल्लाहरूमा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लाहरूमा समेत सीमा पैदल गस्ती गरिने छ ।
सीमा पैदल गस्ती सम्बन्धी अवधारणा तयार पारे लगत्तै मधेस प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले यसको सुरुवात गरेको छ, जसअनुसार नं. १३ गण पर्साले सीमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नजिकका नागरिकहरूमा शान्ति सुरक्षाको प्रत्याभूति दिई सीमा स्तम्भहरूको समेत संरक्षणमा ध्यान राख्दै पैदल गस्तीको सुरुवात गरेको छ ।
अन्य सुरक्षा निकाय, स्थानीय प्रतिनिधि, सीमावासी नागरिक तथा भारतीय समकक्षीको उपस्थितिमा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले पैदल गस्तीको शुभारम्भ गरेका हुन् । गस्तीमा तैनाथ कमान्डर सँग स्थायी रुपमा सम्पर्क गर्न सकिने छ । कमान्डर बदलीपश्चात् पनि सोही नम्बर उपलब्ध गराइनुको साथै यसले सीमावासीहरूलाई सम्पर्क र समन्वयमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
गस्तीका क्रममा सीमावासी नागरिकहरूसँग अन्तरक्रिया कार्यक्रम, सीमा सुरक्षाको महत्त्व तथा सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको भूमिका र स्थानीय वासीको सहयोगको विषयहरूमा समेत छलफल गरिएको थियो । सीमा गस्तीको आवश्यकता अनुसार सम्बन्धित जिल्लाका गणपति, बाहिनीपति र प्रधान कार्यालयबाट समेत अनुगमन हुनेछ ।












