
काठमाडौं । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टीमा ६ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । इलाम २ मा उम्मेदवारी दिन दाबी प्रस्तुत गरेका ६ जनाको नाम रास्वपा केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको हो ।
जसमा मिलन लिम्बू, गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपानेले उम्मेदवार बन्न पार्टीको निर्वाचन आयोगमा नाम दर्ता गराएको आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिए । आन्तरिक प्रतिस्पर्धामार्फत उम्मेदवार टुंग्याउने रास्वपाको तयारी छ ।
इलाम २ मा रास्वपाका तर्फबाट पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिन पाँच जनाले उम्मेदवारी दिएका हुन् । पाँच जनाबीच प्रतिस्पर्धा गरेर केन्द्रीय समितिले उम्मेदवार चयन गर्नेछ । तर, नेकपा माओवादी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका पूर्वपत्रकार लिम्बूले नै टिकट पाउने पक्कापक्की छ । शुक्रबार उनको नाम घोषणा हुने रास्वपाका एक पदाधिकारीले बताए ।














