काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज मैत्रिपूर्ण खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ ।
जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ ओभार २ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे ।

नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा २ छक्कासहित १७ र आसिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजास पटेल र हेमांग पटेलले १÷१ विकेट लिए ।
त्यसअघि साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८ ओभर २ बलमा ९८ रनमा अल आउट भएको थियो ।
गुजरातका ओपनर रुद्र मयुर पटेलले २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रन जोडेका थिए । आर्यन देशाई ४, सराल प्रजापति १७, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए ।
नेपालको जितमा गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३।२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।
दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ ।
शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कप तयारीको लागि नेपालले भारतमा अभ्यास गरेको हो ।














