काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
प्रवक्ता मोहन श्रेष्ठले राप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने बुधबार बसेको पदाधिकारी बैठकबाट निर्णय भएको जानकारी दिए । दिनै परेमा विपक्षी गठबन्धनलाई दिने गरी निर्णय भएको उनको भनाइ छ ।

अध्यक्षले यसम्बन्धमा सम्बन्धित प्रदेशसँग परामर्श गरेर आवश्यकतअनुसार सहयोग गर्ने÷नगर्नेबारे निर्णय लिने उनले बताए ।
गण्डकी प्रदेशमा राप्रपा निर्णायक दल रहेको छ । सो प्रदेशमा ठुलो दलको हैसियतमा कांग्रेसले सरकार निर्माणको पहल गर्दैगर्दा राप्रपाले गरेको निर्णयले एमालेमाथि तनाव बढेको छ ।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै गण्डकीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधवार चैत २७ गतेसम्मको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरिसकेका छन् । प्रवक्ता श्रेष्ठले अब राप्रपासँग कांग्रेसले साथ मागेमा छलफल गरेर उपयुक्त निर्णय लिइने बताए ।














