काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ज्ञवालीले प्रहरी, कर्मचारीतन्त्रलगायत राज्यका विभिन्न निकायमा कार्यरत व्यक्तिले राम्रो कार्यसम्पादन गरे पनि उनीहरूको व्यक्तिगत स्वार्थ पूरा हुन्छ कि हुँदैन भन्ने आधारमा व्यवहार गरिने अवस्था रहेको बताए । लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था भएको उल्लेख गर्दै उनले जनमत प्राप्त गरेको सरकारले पनि लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको पालना गर्नुपर्ने बताए ।
प्रतिनिधि सभाबाट आवश्यक कानुन पारित गर्न सक्ने अवस्था हुँदाहुँदै सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गरिरहेको भन्दै ज्ञवालीले यसले मुलुकलाई असहज परिस्थितितर्फ धकेलेको टिप्पणी गरे । उनले भने, ‘तपाईं प्रहरीको हाकिम हुनुहोस्, तपाईं कर्मचारीको अगुवा हुनुस्, तपाईंले राम्रो पर्फमेन्स गरेर भएन । तपाईंका पर्सनल इन्ट्रेस्टहरू सर्भ हुन्छन् कि हुँदैनन् ।’
राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरित गर्ने गरी अत्यन्त अनुत्तरदायी शासन व्यवस्था झेल्न बाध्य भएको ज्ञवालीको भनाइ छ । उनले भने, ‘लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलनको व्यवस्था हो । ठिक छ, उहाँहरूले जनमत पाउनुभएको छ । हामी सबैले स्वीकार गरेका छौँ ।’
प्रतिनिधि सभाबाट कानुन पास गर्न केले छेकेको भन्दै प्रश्न गर्दै उनले भने, ‘जस्तोसुकै कानुन पास गर्न सक्नुहुन्छ । राष्ट्रिय सभामा उहाँहरूको प्रतिनिधित्व छैन होला । तर नियमावलीले नै भन्छ, दुई महिनाभित्र त्यो ऐन फिर्ता गर्नुपर्छ । संशोधन गर्ने हो भने पनि मान्ने कि नमान्ने भन्ने कुरा जुन सदनबाट उत्पत्ति भएको छ, त्यो सदनको अधिकारको कुरा हो ।’
फटाफट कानुन पास गर्न सक्ने स्थितिमा हुँदाहुँदै अध्यादेशबाट शासन चलिरहेको र मुलुक अत्यन्त अप्ठ्यारो स्थितिबाट गइरहेको ज्ञवालीले बताए ।नेता ज्ञवालीले दण्डहीनतालाई निरन्तर प्रश्रय दिइए प्रत्येक १० वर्षमा हिंसा र विध्वंसका माध्यमबाट सत्ता परिवर्तन गर्ने गलत नजिर स्थापित हुने चेतावनी दिए । नेपालले शान्तिपूर्ण आन्दोलनबाट २४० वर्ष लामो राजसंस्थाको अन्त्य गरेको र १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्ति वार्तामार्फत समाधान गरेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालले विगतमा शान्तिपूर्ण राजनीतिक परिवर्तनको दृष्टान्त स्थापित गरेको बताए ।
गत वर्ष हिंसा र विध्वंसको बाटोबाट सत्ता परिवर्तन भएको भन्दै ज्ञवालीले त्यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्न नसकिने बताए । निर्वाचनमा आफ्नो पार्टीलाई शून्य सिटमा झार्न सकिने तर त्यसका लागि निर्वाचन नै उपयुक्त माध्यम भएको उनको भनाइ छ । अहिले एमाले २५ र नेपाली काँग्रेस ३८ सिटमा रहेको उल्लेख गर्दै उनले निर्वाचनबाट पराजित भए पनि पाँच वर्ष कुर्न तयार रहेको बताए ।
कानुन हातमा लिएर देशका महत्त्वपूर्ण संरचनाहरू जलाउने र मुलुकलाई खरानी बनाएर गरिने परिवर्तनलाई कुनै पनि हालतमा उचित ठहर्याउन नसकिने उनले स्पष्ट पारे । ज्ञवालीले भने, ‘यदि हामीले दण्डहीनतालाई यसै गरी छुट दिँदै गयौँ भने हरेक १० वर्षमा आगो लगाएर सत्ता परिवर्तन गर्ने, मान्छे मारेर सत्ता परिवर्तन गर्ने एउटा नजिर बस्नेछ । त्यो लोकतन्त्रका लागि साह्रै खतरनाक विषय हुनेछ ।’
उनले भने, ‘नेपालले दुई वटा असाध्यै राम्रो दृष्टान्त स्थापित गरेको थियो । २४० वर्ष लामो राजसंस्थालाई १९ दिन लामो शान्तिपूर्ण आन्दोलनबाट अन्त्य गरेका थियौँ । जनतामा त्यो शक्ति छ, जनता जुरुक्क उठे भने शान्तिपूर्ण बाटोबाट पनि ठुला ठुला परिवर्तन स्थापित गर्न सकिन्छ भन्ने उदाहरण हो । र अर्को १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्ति वार्तामार्फत समाधान गरेका हौँ ।’
गत वर्ष हिंसा र विध्वंसको बाटोबाट सत्ता परिवर्तनको नराम्रो नजिर बसेको उल्लेख गर्दै ज्ञवालीले भने, ‘हामी विस्थापित हुनुपर्यो भन्ने चिन्ता होइन । चुनावबाट हामीलाई जिरो सिटमा पनि झार्न सकिन्छ, अहिले हामी २५ मा छौँ । काँग्रेस ३८ मा छ । चुनावबाट हराइदिनुस् न । जिरोमा हराइदिए अर्को पाँच वर्ष कुर्न तयार छौँ ।’
कानुन हातमा लिएर देशका धरोहरहरू जलाएर, देशलाई खरानी बनाएर गरिने परिवर्तनलाई जस्टिफाइ गर्न नमिल्ने उनले बताए । भदौ २३ र २४ गतेका घटनाले राष्ट्रिय भावनाको आधारलाई नै उल्ट्याउने अवस्था सिर्जना गरेको टिप्पणी गर्दै ज्ञवालीले राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई वैधता दिन नहुनेमा जोड दिए ।



















