
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । राप्रपाले बृहत प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्ने चेतावनी दिएपछि काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दैछ ।
सो प्रदर्शनलाई लक्षित गरी उपत्यकामा सुरक्षाकर्मी परिचालन गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरुलाई काठमाडौंमा ओसारेको छ ।
सोमबारसम्म २० वटा गाडीमा राप्रपाका मानिसहरु काठमाडौं भित्रिएका छन् । आज पनि केही भित्रिन सक्ने र पहिल्यैदेखि काठमाडौंमा रहेकाहरुसमेत गरेर करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा अधिकृतहरुको आँकलन छ ।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको छ ।














