
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखसहित सत्ता साझेदार तथा प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका छन् ।
अवरुद्ध संसद खुलाउन प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुखसहित सत्ता साझेदार तथा प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलगायत सहभागी छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपको छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरूद्ध गरिरहेको छ ।
आजै बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरण अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन नगरे संसद् बैठक चल्न नदिने निर्णय गरेको छ ।
साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने पनि चेतावनी दिएको छ ।














