काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारीको रकम अपचलनको विषयमा प्रश्न उठेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार बुद्धनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने बताए ।

बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माको पनि पदबाट राजीनामा मागिएको र संसदीय छानबिन समितिले सफाइ दिएपछि पदमा फर्किएको स्मरण गर्दै नेता सिंहले गृहमन्त्री लामिछानेलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए ।
उनले भने, ‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शंका भइरहेको छ, उही हाकिम भएर बस्न मिल्छ र ? शंका उठिसकेकाले छानबिन गर्नुप¥यो नि त ।’ उनले कांग्रेसलाई संसदीय अभ्यास थाहा भएको भन्दै सहकारी प्रकरणमा संसदीय छानबिन समितिका लागि संसद् अवरोध जारी राखेको बताए ।














