
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएको आरोप लगाउँदै गृहमन्त्री लामिछानेमाथि अनुसनधन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै पटकपटक सदन अवरुद्ध गरेपछि ससद सचिवालयले ‘राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस’भन्ने प्रस्ताव कार्यसूचीबाट हटाएको हो ।
यसअघि यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधिसभामा उक्त प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा कांग्रेसका सांसदहरुले वेल घेराउ गर्द नाराबाजी गरेका थिए ।
त्यसपछि स्थगित भएको प्रतिनिधि सभाको बैठकमा यो कार्यसूची राखिएको थिएन । चैत २७ गते मंगलबार फेरि गृहमन्त्रीले प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । तर, मंगलबार पनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।
मंगलबार १५ मिनेटका लागि स्थगित भएको बैठक आज बुधबारका लागि बोलाइएको छ । कांग्रेसले आफ्नो माग पुरा नहुँदासम्म बैठक चल्न नदिने अडान कायम राखेको छ ।














