Logo
Logo

पूर्वअर्थमन्त्री महतले भने- नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझेको छ


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभालाई सम्बोधन उनले भने, ‘नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझेको छ ।’

उनले ०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण भएको बताए । निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति रहेको बताउँदै उनल भने, ‘नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात निर्यातमा मात्र सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्यो ।’

पहिलो चरणको सुधार ०४६ पछि प्रारम्भ भएको बताउँदै उनले दोस्रो चरणको सुधार प्रारम्भ गर्ने काम पनि आफूहरुले गरेको दावी गरे । ‘जबसम्म राज्यसंयन्त्र पारदर्शी, अनुशासित हुँदैन, बजेटरी सिस्टममा नचल्दासम्म राज्य प्रभावकारी हुनसक्दैन’ डा। महतले भने, ‘राज्य विभेदकारी भयो भने राज्य वितरणमुखी र पार्टीमुखी मात्र भयो भने देशले अपेक्षा गरेको आर्थिक वृद्धि सम्भव हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ ।’ नेपालमा लगानी बढाउनका लागि तीनवटै निजी क्षेत्रको संगठनलाई सदस्य बनाएर के–कस्ता अप्ठ्यारा छन् भनेर खोजेको बताए ।

डा. महतले भने, ‘दोस्रो चरणको सुधारको प्रारम्भ हामीले गरेका थियौं, त्यसलाई निरन्तरता भयो भने जसरी ०४६ पछि आर्थिक वृद्धिदरमा नयाँ प्राम्भ भएको थियो, फेरि त्यो अझै हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्