काठमाडौं । टी-२० शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ ।
आज (बुधबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा सबै विकेट गुमाएको नेपालले १५१ रन मात्र बनाउन सक्यो ।

नेपालका ओपनर लोकेश बमले २८ रन बनाए । कुशल मल्लले २० रन थप्दा विनोद भण्डारी र अनिल साहले १४ रन थपे । नवौँ नम्बरमा ब्याटिङका लागि आएका करण केसीले २८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
वेस्ट इन्डिजका हायदेन वाल्सले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । गुडाकेश मोटीले दुई विकेट लिए । फाबियन एलेन, ओबेड म्याकोइ र म्याथ्यु फोर्डेले समान एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो ।
वेस्ट इन्डिजबाट ओपनिङमा आएका चार्ल्सले अविजित ११९ रन बनाए । उनले ६१ बलमा १३ चौका र सात छक्का प्रहार गरे । २७–१ को अवस्थाबाट चार्ल्सले दोस्रो विकेटका लागि आन्द्रे फ्लेचरसँग १५२ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ्स सम्हालेका थिए ।
फ्लेचरले ३३ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए । फाबियन एलनले १९ र एलिक एथानाजेले १७ रन बनाए । किमो पाउल १३ रनमा अविजित रहे ।
नेपालका करण केसी र सागर ढकालले समान एक विकेट लिए ।
आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले नियमित कप्तान रोहितकुमार पौडेललाई राखेका थिएनन् । दीपेन्द्रसिंह ऐरीले नेपाली टिमको कप्तानी सम्हाल्दा यसअघि मौका पाएका लोकेश बम र अनिल साह पनि प्लेइङ–११ मा थिए । नेपाली टिमका आज विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि मौका पाएका थिए ।
पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले हराएको थियो । पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो ।
यी दुई टिमबीचको चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।














