काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएका भेटीघाटीदेखि जग्गाको समेत अभिलेख चुस्त दुरुस्त हुन नसकेको अवस्थामा भगवान् आफै ठगिएका हुन ।
महालेखा परीक्षकको ६१औँ प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बहुमूल्य द्रव्य, भेटीको अभिलेख प्राप्त भएकै समयमा मुचुल्का गरी राख्ने गरेको नपाइएको भन्दै प्रश्न उठाइएपछि त्यहाँका पदाधिकारीहरूलाई समेत कहीँ कतै प्रलोभनमा परेका कि भन्ने आशङ्का गरिएको छ ।

पशुपतिनाथ मन्दिरमा दान-दक्षिणा चढाउन नौ वटा घ्याम्पो (तामाका गाग्रा जस्तै) राखिएका छन्। प्रत्येक ढोकामा दुई/दुई वटा र एउटा चन्दन राख्ने ठाउँमा यस्ता घ्याम्पा राखिएका छन् । नौ वटा घ्याम्पामध्ये एउटा घ्याम्पो २०७९ माघ १० गते हरायो। त्यसमा दुई लाखभन्दा बढी रुपैयाँ रहेको अनुमान गरिएको थियो । घ्याम्पो हराएपछि सोधखोज भयो। सोधखोजपछि बिसेट नाइके अरुणकुमार श्रेष्ठले त्यसै दिन राति फलफूल पसलमा घ्याम्पो भेटिएको जानकारी गराएका थिए ।
यस विषयमा छानबिन गर्न पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको थियो ।
उक्त समितिले छानबिन समिति बनाउने प्रस्तावमा हस्ताक्षर समेत नगरेका तत्कालीन प्रशासन प्रमुख रेवतीरमण अधिकारीले प्रशासन संयन्त्रलाई चुस्त–दुरुस्त नराखेको तथा मन्दिरसम्बन्धी हेरचाह गर्ने गौरीशंकर पराजुलीले आफ्नो दायित्व पूरा नगरेको भन्दै दुवै जनालाई कारबाही सिफारिस गरेका थिए । अधिकारी अहिले कोषका प्रवक्ता छन्। छानबिन समितिले बिसेट नाइके श्रेष्ठ, आइटी सहायक आशीष गिरी र घ्याम्पाको साँचो राख्ने कर्मचारीलाई पनि कारबाही सिफारिस गरेको थियो ।
उक्त छानबिन समितिले २०७९ माघ २१ गते तत्कालीन पर्यटनमन्त्री सुदन किराती, पर्यटन सचिव सुरेश अधिकारी र कोषका सदस्य सचिव मिलन थापालाई प्रतिवेदन बुझाएको थियो। तर त्यो प्रतिवेदन सार्वजनिक गरिएन र कारबाही सिफारिसमा परेका कसैलाई पनि त्यसको भागीदार बनाइएन ।
दान–दक्षिणासहितको घ्याम्पो हराएको दुई वर्षपछि यही जेठ ९ गते सिसिटिभीसमेत छलेर भेटी चोरी भएको छ । भेटी गणनाका बेला चोरी भएको हो। भेटी चोरीमा संलग्न भएको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
भेटी गणनामा संलग्न पण्डित नवराज घिमिरेको आवासबाट प्रहरीले अबिर लागेको ३६ हजार रुपैयाँ बरामद गरेको थियो । यसैगरी नायब सुब्बा नवराज घोडरीको आवासबाट पनि अबिर लागेको ६ लाख रुपैयाँ बरामद गरिएको थियो ।
भेटी चोरीमा संलग्न भएको आरोपमा घिमिरे, घोडरीसहित अनिल परियार, सनिशा कपाली र कुमार दमाई पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । कोष स्रोतअनुसार परियारले प्रहरीसमक्ष भेटी चोरेबापत प्रत्येक दिन एक हजार पाँच सय रुपैयाँ पण्डित घिमिरेले आफूलाई दिने गरेको र बाँकी उनैले ‘माथिसम्म पुर्याउनुपर्छ’ भनेर लिने गरेको बयान दिएका छन् ।
‘माथि’ भनेको को हो उनले नाम खुलाएका छैनन् । सम्भवतः कोषका पदाधिकारी हुन सक्ने सम्भावना रहेको छ १ तर यो विषयमा अहिलेसम्म थप अनुसन्धान भएको छैन । चोरीको भेटी लिने पदाधिकारी पनि फेला परेका छैनन् ।
कोषका अनुसार पशुपतिनाथ मन्दिरमा हरेक दिन साढे चार लाख रुपैयाँ बढी भेटी जम्मा हुन्छ । संकलन भएको भेटी दैनिक गणना गरी कोषको परिसरभित्र रहेको एनएमबी बैंकमा जम्मा गरिन्छ । भेटी जम्मा गर्ने प्रक्रियाप्रति पनि महालेखाले प्रश्न उठाएको छ । घ्याम्पामा जम्मा भएको भेटी प्रत्येक दिन साँझ प्रहरीसमेतको उपस्थिति र सिसिटिभीको पहुँचमा गणना गरिन्छ ।
भेटी चोरीमा सलग्नले सिसिटिभीलाई अनौठो गरी छलेको पत्ता लागेको थियो । प्रहरीले भेटी चारी गर्नेलाई पक्राउ गरेर अनुसन्धान गरेको भएपनि माथिल्लो तहका पदाधिकारीको संलग्नता भए नभएको बारे केही बताएको छैन ।
पूजा व्यवस्था नियमावली, २०६८ को नियम ७८ मा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको सुनचाँदीका सामान, धातुका भाँडाकुँडा, वस्त्रलगायत जिन्सी सामग्री पूजा समाप्त भएपछि मुचुल्का गरी परिषद्ले तोकेबमोजिम ढुकुटीमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।
बहुमूल्य द्रव्य, भेटीको अभिलेख प्राप्त भएकै समयमा मुचुल्का गरी राख्ने गरेको देखिएन भन्दै महालेखाकाले प्रश्न उठाएको छ । महालेखाको प्रतिवेदनमा लेखिएको छ, ‘श्री पशुपतिनाथ मन्दिर परिसर मूल गेटभित्रको दानपेटीमा भक्तजनले चढाएको कपडा, सुन चाँदीजस्ता देखिने धातु र अन्य जिन्सी (पैसाबाहेक) सामान सम्बन्धित शाखाको पदाधिकारीको रोहबरमा मुचुल्का तयार गरी भण्डारण गर्नुपर्नेमा मुचुल्का नउठाई राख्ने गरेको देखियो।
उक्त सामानहरू मुचुल्का उठाई सुरक्षित साथ भण्डारमा राख्नुपर्छ ।’वाणिज्य विभागले एक वर्षअघि गरेको छड्के अनुगमनमा पशुपतिनाथ मन्दिरमा चन्दनको नाममा कुकाठ बिक्री गरेको पाइएको थियो। त्यतिबेला कुकाठ बिक्री गर्ने व्यक्तिलाई जरिवाना गरिएको थियो ।
स्रोतका अनुसार कोषका प्रवक्ताको नाममा पशुपति उपभोक्ता सहकारी दर्ता गरिएको छ। उक्त संस्थाको नामबाट मृतकका परिवारलाई मृत्यु कर्ममा चाहिने १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँ बराबरसम्मका सामान बिक्री गरिन्छ । तर यो संस्थाले मृत्यु कर्ममा चाहिने समाग्रि विक्री गर्न कोषबाट अनुमति लिएको छैन । पशुपतिमा उक्त सहकारीबाहेक अन्य व्यक्ति वा संस्थाले मृत्यु कर्ममा चाहिने सामग्री बिक्री गर्न पाउँदैनन् ।
कोषले २०६४ साउन १६ गते दिएको स्वीकृतिअनुसार पशुपतिनाथ एवं बागमती गंगा आरती सेवा समितिबाट मन्दिरको पूर्वतर्फ सन्ध्याकालीन आरती हुँदै आएको छ। यसरी स्वीकृति दिँदा अवधि तोकिएको छैन । कोषले उक्त संस्थालाई गुजराती बाजा सत्तलको एक कोठा र राममन्दिर क्षेत्रको सत्तलको एक कोठा निःशुल्क उपलब्ध गराएको छ । उक्त संस्थाले आरती गर्नका लागि भक्तजनबाट दान–दक्षिणा तथा अन्य भेटी सहयोग लिने गरेको छ । तर यसरी लिइएको सहयोगबापतको रकमको अंश कोषमा दाखिला नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको सयौँ रोपनी जग्गा अतिक्रमण भएको छ । महालेखाको प्रतिवेदनअनुसार मन्दिरको स्वामित्वमा साबिक गोठाटार ३ ९क० मा ७ हजार २ सय ६१ दशमलव ७१ वर्ग मिटर क्षेत्रफल जग्गा छ । तर डिजिटल प्रविधिबाट नापी हुँदा उक्त जग्गा ३ सय ६७ दशमलव ८९ वर्ग मिटर घटी हुन गएको देखिन्छ । बालुवाखानीका कारण पटकपटक विवादमा आएको उक्त जग्गा कोषले संरक्षण नगर्दा त्यहाँ ११ वटा पक्की घर, ४० वटा टहरा बनाइएको छ ।
पशुपतिनाथको उक्त जग्गामा तेज विनायक माध्यमिक विद्यालयको भवनसमेत बनाइएको महालेखाको प्रतिवेदनमा जनाइएको छ । भूकम्पपछि बनेको उक्त भवनमा अहिले कक्षा १० सम्म पढाइ हुन्छ । वालुवाखानीमा रहेको सो विद्यालय गोठाटारबाट सारिएको थियो ।














